Logo

बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो



काठमाडौं । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा प्रारम्भिक सुनुवाइ सकिएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजालसमा परेको सो मुद्दामा प्रारम्भिक सुनुवाइ सकिएको हो । घिमिरेविरुद्ध सर्वोच्चका प्रवक्ता तथा उपरजिस्ट्रार गोविन्द घिमिरेले टिप्पणी उठाएर मुद्दा दर्ता गरेका थिए ।

न्याय परिषद् नियमावली सच्याउन माग गर्दै लामो समयदेखि बार आन्दोलनमा उत्रिएको छ । बारको आन्दोलनलाई बेवास्ता गर्दै निवर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका मुख्य न्यायाधीशद्धय नित्यानन्द पाण्डे र नृपध्वज निरौलालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका थिए ।

आफूहरुको आन्दोलनलाई पन्छाएर न्याय परिषद्ले एकलौटी गरेको भन्दै बार अध्यक्ष घिमिरेले कडा टिप्पणी गरेका थिए । सेटिङमा न्यायाधीश नियुक्ति गरेको आरोप लगाएपछि सर्वोच्चको फुलकोट बैठकले घिमिरेविरुद्ध मुद्दा दायरगर्ने निर्णय गरेको थियो ।

यद्यपि टिप्पणी उठाउने प्रवक्ता घिमिरेले भने यसअघि नै मुद्दा फिर्ता लिने घोषणा गरिसकेका छन् । तत््कालीन प्रधानन्यायाधीश श्रेष्ठको पेलानमा परेर आफूले सो कदम उठाएको उनको भनाइ छ । टिप्पणी उठाउने घिमिरेको भनाइलाई आधार मानेर सर्वोच्चले रिट खारेज गरेमा मुद्दा आजै किनारा लाग्नेछ भने खारेज नगरेमा मुद्दा अगाडि बढ्नेछ ।



प्रतिक्रिया दिनुहोस्