Logo

दाने जग्गा मीनबहादुरलाई नै फिर्ता गर्न प्रधानमन्त्रीलाई अर्थविद् अधिकारीको सुझाव (भिडिओसहित)



काठमाडौं, १ कात्तिक । अर्थविद् चन्द्रमणि अधिकारीले पैसा हुनेले संसद् नै किन्न सक्ने स्थिति पैदा हुँदै गएको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले व्यवसायी मिनबहादुर गुरुङले नेकपा (एमाले) लाई १० रोपनी १४ आना जग्गा दान दिएको विषयमा यस्तो बताएका हुन् । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले व्यवसायी गुरुङबाट पार्टी कार्यालयका लागि जग्गा लिनुमा स्वार्थको द्वन्द्व प्रष्ट रहेको उनले बताए । एमालेलाई जग्गा दिएका गुरुङले संसद्देखि मन्त्रिपरिषद्लाई समेत प्रभावित पार्ने सक्ने उनको दाबी छ ।

अर्थविद् अधिकारीले उक्त जग्गा फिर्ता गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए । ‘हामी कहाँ पैसाले राज्य सञ्चालन हुन थाल्यो । राज्यले, सरकारले पैसा सञ्चालन गर्ने र त्यसको उचित व्यवस्थापन गर्नुपर्ने ठाउँमा पैसा हुने संसद् नै किन्नसक्ने स्थिति सिर्जना हुँदै गयो । प्रधानमन्त्रीलाई मेरो सुझाव के छ भने यो उहाँले फिर्ता गर्नुपर्छ । उहाँको हिजोको पार्टी कार्यालय कार्यकर्ताहरुले दिएको पैसाले बनेको थियो नि । त्यसलाई पुनर्संरचना गरेर सञ्चालन गर्न सक्नुहुन्थ्यो । एउटा धनाड्य व्यक्तिसँग लिनु भनेको उहाँले जतिसुकै होईन भने पनि, जेसुकै स्पष्टीकरण दिएपनि जनताले विश्वास गर्दैनन् । सत्तासँग जोडिएको दललाई कुनै पनि व्यापारीले पैसा दिन्छ भने त्यहाँ स्वार्थ हुन्छ । त्यसमा निश्चित छ । यसले संसद्, मन्त्रिपरिषद्लाई प्रभाव पार्न सक्छ,’– उनले भने ।

साथै, नेपालका राजनीतिक दलहरु विचार र सिद्धान्तमा हिँड्न नसकेको उनको टिप्पणी छ । उनले देशमा मतियार अर्थतन्त्रको निर्माण हुँदै गएको बताए । अहिले पैसाले संसद् र राजनीतिक दललाई नियन्त्रण गरिरहेको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्