Logo

विप्लवसँग भेटेलगत्तै घनश्याम भूसालसँग जनार्दन शर्माको अर्थपूर्ण भेटवार्ता



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र अर्को प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालबीच भेटवार्ता भएको छ ।

बिहीबार काठमाडौंमा करिब एक घण्टा भएको कुराकानीमा कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट लैजाने विषयमा छलफल भएको शर्मा निकट स्रोतले जनाएको छ । दुई नेताबीच भएको छलफलमा देशको राजनीतिक अवस्था र अबको समाजवादी क्रान्तिको नेतृत्व सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्दा मात्र सम्भव भएको र यसका लागि आ(आफ्नो ठाउँबाट योगदान गर्ने विषयमा छलफल भएको थियो ।

यसअघि माओवादी केन्द्रका उपमहासचिव शर्माले कम्युनिष्ट पार्टी एक हुनुपर्ने विषयमा नै केन्द्रित रहेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव सँग छलफल गरेका थिए।

राष्ट्रिय राजनीतिमा चर्चामा आइरहने नेता ‘विप्लव’ हाल माओवादी र एकीकृत समाजवादप्समेत सहभागी समाजवादी मोर्चाका संयोजकको भूमिकामा छन्। भूमिगत राजनीतिक यात्राबाट बाहिर निस्किएर, नेकपा सरकारका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन बुँदे सहमति गर्दै उनी मूलधारको राजनीतिमा फर्केका हुन्। उनी हाल गृहजिल्ला कपिलवस्तुमा नै बस्दै आएका छन्, जहाँ उनले नमूना कृषि फर्म पनि सञ्चालन गरिरहेका छन्।

यस फर्मको अवलोकनमा एक साता पहिले एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल पुगेका थिए। यसपछि माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पनि उक्त फर्मको भ्रमण गरेका छन्। घनश्यामले भेटेलगत्तै जनार्दन विप्लवलाई भेट्न कपिलवस्तु पुगेका हुन् ।

पछिल्लो समय माओवादी,नेकपा एस र विप्लवबीच पार्टी एकता गर्ने चर्चा चल्दै आएको छ । त्यसो त, माओवादी केन्द्रभित्र जनार्दन शर्मा अध्यक्ष प्रचण्डलाई चुनौती दिने नेताको रुपमा देखिँदै आएका छन् । केही समययता प्रचण्डको प्रस्तावविरुद्ध लिखित रुपमा असहमति प्रकट गरिरहेका शर्मा माओवादीमा आगामी नेतृत्वको दाबेदारका रुपमा हेरिएका व्यक्ति हुन् ।

यही क्रममा जनार्दन शर्माको कपिलवस्तु भ्रमणलाई माओवादी एकता र पुनर्संरचनाको संकेतका रुपमा हेरिएको थियो। कतिपयले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई पार्टीमा भित्र्याएर आफ्नो उत्तराधिकारी बनाउन लागेको बताइरहेका छन्, जसलाई रोक्न जनार्दनले सक्रियता देखाएको स्रोतको दाबी छ। तर, जनार्दनले भने पार्टीलाई बलियो बनाउने अभिप्रायका साथ विप्लव मात्रै नभई अन्य पूर्व माओवादीलाई पनि एकत्रित गर्ने उद्देश्य राखेको बताउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्