Logo

विपक्षी दलको बैठकमा रास्वपा सांसदको लर्को, महन्थ र माधव आउँदा उपेन्द्रले गरे बहिष्कार



काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलको बैठकमा सत्तारुढ पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् ।

संसद्को प्रमुख प्रतिपक्षी दलका नेता रहेका प्रचण्डले बोलाएको बैठक नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी छ । उक्त बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, लोसपा र आम जनता पार्टीका शीर्षसहित नेताहरू सहभागी छन्।

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, उपमहासचिव शक्तिबहादुर बस्नेत सहभागी हुँदा रास्वपा सभापति रवि लामिछानेले आधा दर्जन सांसद लिएर बैठकमा पुगेका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ पर्ने त्रासका बीच लामिछानेले उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, सुमना श्रेष्ठ, बिराजभक्त श्रेष्ठलाई लिएर बैठकमा पुगेका हुन् ।

साथै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष ठाकुर, आजपा अध्यक्ष प्रभु शाह पनि बैठकमा सहभागी छन्।

लोसपाबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा १ जना मन्त्री सामेल छन् । सरकारलाई समर्थन गरेको तर, मन्त्री नपठाएको जनता समाजवादी पार्टी नेपालबाट भने केही पनि नेता बैठकमा उपस्थित भएका छैनन् । तत्कालीन प्रचण्ड नेतृत्वको सरकारको पालामा जसपा नेपाल फुटेको थियो । पार्टी फुटेपछि जसपा नेपालका अध्यक्ष उपेन्द यादव र प्रचण्डबीच सम्बन्धमा दरार आएको छ । प्रचण्डले बोलाएको हरेक बैठक त्यसयता उपेन्द्रले बहिष्कार गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्