Logo

पार्टी फुट्न र पक्राउ पर्नबाट जोगाइदिन प्रचण्डसँग माधव र रविको हारगुहार



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकतृ समाजवादीले आ-आफ्ना पीडा प्रचण्डसमक्ष पोखेका छन् । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको प्रतिपक्षी दलको बैठकमा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई सरकारले सहकारी ठगी प्रकरणमा पक्राउ गर्न लागेको भन्दै प्रतिपक्षी दलको साथ खाजेका थिए ।

आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वगृहमन्त्री लामिछाने पक्राउ पर्नसक्ने बताएको एक नेताले जानकारी दिए । प्रचण्डले बिहीबार तीन दलको बैठकमा भएको छलफलका आधारमा यस्तो विश्लेषण सुनाएका हुन् ।

टीआरसीबारे छलफल गर्न बिहीबार बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे समेत छलफल भएको स्रोतको भनाइ छ ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्कहरु सुन्दा सरकार अगाडि बढ्न खोजेको देखिएको प्रचण्डले सुनाएको छलफलमा सहभागी आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जानकारी दिए । आजको बैठकमा रविले आफूसहित अन्य सांसदहरुको टोली नै लिएर बैठकमा पुगेका थिए ।

विपक्षी दलकोबैठकमा सबै दलका एक एक नेता सहभागी भएता पनि रास्वपाबाट भने रविसहित उपसभापति तथा सांसदद्धय स्वर्णिम वाग्ले,डीपी अर्याल तथा सुमना श्रेष्ठ,शिशिर खनाल र विराजभक्त श्रेष्ठ उपस्थित भएका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्न सरकारमाथि दबाब दिएका छन् । संसदीय छानबिन समितिको सिफारिशबमोजिम लामिछानेमाथि कारबाही अघि बढाउन सरकारमाथि दबाब छ । यही प्रकरणमा लामिछानेको व्यवसायिक साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन् ।

जोशीको बयानका आधारमा रविलाई दशैं अघिनै पक्राउ गर्ने सरकारको तयारी थियो । तर, लामिछानेले भीड जम्मा पारेर सरकारमाथि नै धावा बोलेको भनेर रास्वपाको आलोचना भैरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेकै बेला प्रहरीले लामिछानेलाई पक्राउको तयारी गरेको थियो । त्यतिवेला पनि रास्वपाको मुख्यालय घण्टीघरमा नेता तथा कार्यकर्ता भेला भएर सरकारविरुद्ध नाराबाजी गरेका थिए । कांग्रेस सभापति देउवाले हिजोमात्रै प्रधानमन्त्री ओलीलाई भेटेरै लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन दबाब दिएका छन् । पक्राउ पर्ने सुईंको पाएपछि रवि दलबलसहित विपक्षी दलको बैठकमा पुगेको चर्चा चलेको छ । रविसहितका सांसदको कुरा सुनेपछि प्रचण्डले सरकारले पूर्वाग्रह राखेर पक्राउ गरिए प्रतिवाद गर्ने आश्वासन दिएको स्रोतले जनाएको छ ।

त्यस्तै बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी फुटाउन सरकारले अध्यादेश ल्याउन लागेको भन्दै पार्टी फुट्नबाट जोगाईदिन अनुरोध गरेका थिए ।यसैबीच आपफ्नो पार्टी फुट्ने खतरा बढेको भन्दै प्रचण्डसमक्ष माधवले गुनासो गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एसमात्र नभएर अन्य दुई दललाई पनि सरकारले फुटाउन खाजेको सूचना आफूले पाएको बताएका थिए ।

उनले एकीकृत समाजवादी, माओवादी केन्द्र र रास्वपालाई विभाजन गर्ने गरी अध्यादेश ल्याउन लागिएको खबर आफूले पनि पाएको बताएको स्रोतले जनाएको छ । गत असारमा महाधिवेशन गरेको एकीकृत समाजवादीमा तीव्र असन्तुष्टि देखिएको छ ।

महाधिवेशनमा असन्तुष्ट बनेका नेताहरु पूरानै घर एमालेमा फर्किन खाजिरहेका छन् । तर,राजनीतिक दलसम्बन्धी कानुनका कारण नेकपा एस तत्काल विभाजन हुन सक्ने अवस्था छैन् । एउटा पार्टीबाट फुटेर बनेको दल ५ वर्षसम्म फेरि फुट्न नसक्ने व्यवस्था रहेको हुँदा यहि अवस्थामा एकीकृत समाजवादी फुट्न नसक्ने ऐनको व्यवस्था छ। तर,सरकारले भने राष्ट्रिय मान्यता नपाएको दलका सांसद स्वतन्त्र हुने र अन्य पार्टीमा प्रवेश गर्दा दलको कारबाही नलाग्ने गरि अध्यक्षदेश ल्याउन लागेको चर्चा भइरहेको छ ।

आजको बैठकमा एसका अध्यक्ष तथा पूर्वपधानमन्त्री माधवकुमार नेपालले यसबारेमा प्रचण्डसँग कुरा गरेका थिए । जवाफमा प्रचण्डले पार्टीफुटाउन र तर्साउन सरकारले अध्यादेश ल्याए सबै विपक्षी दल मिलेर प्रतिवाद गर्ने आश्वासन दिएको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्