काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारले ढिला गरी पक्राउ गरेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउनुपर्ने आवश्यक्ता नै नरहेको बताएका हुन् । तत्कालीन सरकारले प्रश्न उठेपछि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्न नसकेको उनले बताए । अहिले संसदीय समितिले प्रतिवेदन दिँदा पनि विलम्ब गरेर उनलाई पक्राउ गरिएको उनको टिप्पणी छ । राजनीतिक सौदाबाजी नमिलेपछिमात्रै रवि लामिछानेलाई पक्राउ गरिएको हुनसक्ने उनले आशंका व्यक्त गरे ।
‘कानुनी राज्यमा जब कुनै व्यक्तिले कानुनको उल्लङ्घन गरेको छ, ठगी गरेको छ, सामान्य जनताको त्यत्रो रकम अपचलन गरेको छ, दुरुपयोग गरेको छ भन्ने कुरा आइसकेपछि कुनै संसदीय छानविन समिति गरिरहनु पर्दैन थियो । त्यो बेलामा नै सरकारका निकायहरु सकृय भएर कानुनले आफ्नो बाटो लिनुपर्थ्यो । त्यो गरेन । त्यसमा हामीले सबै कुरा बुझेकै छौं । जब पछि सूर्य थापाजीको संयोजकत्वमा संसदीय छानविन समिति बन्यो र त्यसले प्रतिवेदन बुझायो । प्रतिवेदन बुझाएपछि त सरकारको कर्तव्य हो नि । संसदले सरकारलाई निर्देशन दिएको थियो । त्यो विलम्ब भएर मलाई लाग्छ, अनेक प्रकारको कुराहरु सुन्नुमा आएको थिए,’– नेता रावलले भने ।
रवि लामिछानेको गिरफ्तारीसँगै पीडितहरुका केही आशा जागेको बताउँदै नेता रावलले अबका प्रक्रियाहरुमा पनि निश्पक्ष ढंगले उनीमाथि अनुसन्धान र कारबाही हुनुपर्ने बताए । ‘पीडकलाई दण्ड सजाय हुन्छ कि भनेर पीडितहरुमा आशा जाग्नु स्वाभविक हो । तर, गिरफ्तार हुँदैमा मात्रै हुँदैन । त्यसपछि यसका प्रक्रियाहरुमा पनि निश्पक्ष किसिमले निर्भिकताका साथ सम्बन्धित निकाय अगाडि बढ्नुपर्छ । तबमात्रै पीडितहरु ढुक्क हुने अवस्था बन्छ,’– उनले भने ।