काठमाडौं, ३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि बल्ल छानविन सुरु भएको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगीमा संसदीय समिति खानपिनको लागि मात्रै बनेको बताए । ‘बल्ल अनुसन्धान सुरु भयो । संसदीय समिति त खानपिनका लागि भएको थियो । अनुसन्धान अब भयो,’– उनले भने ।
संसदीय समितिको प्रतिवेदनपछि रवि लामिछाने पक्राउ पर्नुले ऐनले प्रहरीलाई दिएको अधिकार प्रहरीले प्रयोग गर्न नसक्ने परिस्थिति रहेछ भन्ने पुष्टि गर्नेउनले बताए । प्रहरीले कसैलाई नसोधी काुननबमोजिम आफ्नो अधिकार प्रयोग गर्न सक्नुपर्ने उनले बताए । लामिछानेलाई पक्राउ गरिनु सामान्य कुरा रहेको बताउँदै उनले यसमा धेरै हल्ला गर्नुपर्ने आवश्यक्ता नरहेको बताए ।
अब लामिछानेलाई अनुसन्धान अधिकारीले संसदीय छानविन समितिको हवला नदिएर आफ्नै ढंग र चरित्रबाट कानुनबमोजिम अनुसन्धान गर्नुपर्ने उनले बताए । लामिछानेलाई ठूला तीन दलले तानातान गरिरहेको बताउँदै उनले मुद्दा कमजोर पार्नका लागि संसदीय समिति बनाइएको हुनसक्ने आशंका व्यक्त गरे । यसभन्दा अघि नागरिकता काण्ड र दोहोरो राहदानीमा रवि लामिछानेलाई तीनवटै दलले उन्मुक्ति दिएको उनले बताए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीमा विभिन्न प्रकारका व्यक्तिहरु छन् । विभिन्न प्रकारको विज्ञहरु छन्, युवाहरु छन् । तिनीहरुले यस्तो अपराधजन्य कार्य, गरिब नेपाली जनताको अर्बौं रुपैयाँ अपचलन गरेर, मिडिया चलाएर हल्लाखल्ला गरेर सुरुदेखि अहिलेसम्म एकलौटी रुपले उहाँ विवादग्रस्त मान्छे हो । रवि लामिछाने विवादग्रस्त नभएको कहिलेदेखि ? रवि लामिछानेलाई तीन वटै पार्टीले बचाउने प्रयास गरे । नागरिकता, पासपोर्टमा तीन वटा पार्टीले सहयोग गर्दिएकाले उहाँ फेरि जागेर आउनुभयो । यस्तै प्रकारले अहिले पनि तीन वटै पार्टीले उहाँलाई तानातान गरिराखेका छन् । मलाई त आशंका छ, मुद्दा कमजोर बनाउनका निमित्त संसदीय समिति गठन गरेर, संसदीय समितिले दोहोरो अर्थ लाग्ने प्रतिवेदन दिएर अनुसन्धान गर्न लागिएको छ । यो अनुसन्धान कमजोर बनाएर फेरि फ्ुत्काइदिने आशंका छ,’– उनले भने ।