Logo

संसदीय छानविन विशेष समितिको प्रतिवेदनविपरीत रवि लामिछानेलाई पक्राउ गरियोः यज्ञमणि न्यौपाने (भिडिओसहित)



काठमाडौं, ३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले राजनीतिक पूर्वाग्रहका आधारमा रवि लामिछानेलाई पक्राउ गरिएको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछानेलाई संसदीय छानविन समितिको प्रतिवेदन विपरीत पक्राउ गरिएको बताएका हुन् । संसदीय छानविन समितिले लामिछानेलाई सहकारी ठगी अन्तर्गतको मुद्दामा संलग्नता नै नदेखाएको उनको दाबी छ । समितिले कम्पनी ऐनबमोजिम कारबाही गर भनेर सिफारिस गरेको अवस्थामा सहकारी ऐनअन्तर्गत पक्राउ गरिनु गलत रहेको उनले बताए । अधिवक्ता न्यौपानेले लामिछानेमाथि अनुसन्धान अगाडि बढ्नमात्रै पनि कम्पनीका सदस्य वा शेयर होल्डरले जाहेरी हाल्नुपर्ने बताए ।

‘छानविन समितिको प्रतिवेदनले सहकारीका रकमका सन्दर्भमा रवि लामिछानेको संलग्नता देखिएन भनेको थियो । त्यही प्रतिवेदनलाई अहिले कार्यान्वयन गर्दाखेरी चाहीँ ठगीको मुद्दाबाट कसरी अनुसन्धान सुरु गर्न सकिन्छ त ? त्यो प्रतिवेदनले त के भनेको थियो भन्दा कम्पनीको विषयसँग सम्बन्धित विषयमा कारबाही गर्नु भनेको थियो । कम्पनीको विषयमा जाहेरवाला कम्पनीको शेयर होल्डर वा सदस्य हुनुपर्छ । त्यो पनि देखिँदैन । यहाँ राजनीतिक आग्रह, पूर्वाग्रहको आधारमा भएको भन्ने देखिन्छ,’– उनले भने ।

रवि लामिछाने भागी उम्की फरार हुने अवस्था नरहेको र प्रमाण नष्ट गर्ने ठाउँमा पनि नरहेको बताउँदै उनले पक्राउ गर्नुको औचित्य नरहेको बताए । आफूहरुले रवि लामिछानेलाई अनुसन्धान नगर भनेर कहिले पनि नभनेको उनले बताए । तर, अनुसन्धानको नाममा राजनीतीकरण नगर भनेर आफूहरुले भनिरहेको उनले बताए । गोर्खा मिडिया नेटवर्क सहकारी हो भनेमात्रै अहिले रवि लामिछानेमाथि लगाइएको मुद्दा ठीक हुने उनले बताए । होईन भने लामिछानेलाई पक्रिदा र कारबाही गर्दा कम्पनी कानुनबमोजिम हुनुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्