काठमाडौं, ३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सह–प्रवक्ता मनिष झाले आफूहरु नेपाली कांग्रेसको टार्गेटमा परेको टिप्पणी गरेका छन् । आज (शनिबार) पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले कांग्रेसले बहुलवादलाई स्वीकार गर्न नसक्दा अहिलेको परिस्थिति आएको बताएका हुन् । रास्वपा सभापति रवि लामिछाने सहकारीको मुद्दामा पक्राउ नपरेको उनले बताए । लामिछानेलाई राजनीतिक आग्रह, पूर्वाग्रहको आधारमा प्रतिशोध साधिएको उनले बताए ।
‘नेपाली कांग्रेस म लोकतन्त्रको ठेकेदार हुँ भन्छ । लोकतन्त्रको एउटा आधारभूत सिद्धान्त बहुलवाद हो । जुन कुरा संविधानमा लेख्नका लागि सुशिल कोइरालाले रातदिन मेहनत गर्नु भएको थियो । अरु–अरुले मानिराखेका थिएनन् । तर, आज हेर्नुस् त बहुलवादको अभ्यास यो हो ? एउटा नयाँ पार्टी आउँदै गर्दा अस्तित्व मेटाउन खोज्ने ? यो बहुलवाद हो ? बहुलवाद भनेको त समाजमा सबैले सबैको अस्तित्व स्वीकार गर्नुपर्छ । नेपाली कांग्रेसले स्वीकार्न सकिरहेको छैन । उहाँहरुको हामी टार्गेट भइरहेका छौं । यो कुनै सु्शासनको मुद्दा होईन । यो सहकारीको मुद्दा पनि होईन । ८७ अर्ब छोडेर नत्र ३ करोडमा किन अल्झिनुहुन्थ्यो ? अरु–अरु पनि त देखिए, उनीहरुलाई किन उन्मुक्ति दिनुहुन्छ ?’ उनले प्रश्न गरे ।