Logo

प्रचण्डलाई जनार्दनको सुझावः माओवादी आन्दोलनलाई एकतावद्ध गर्न ठूलो छाती गर्नुपर्छ



काठमाडौं, ३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का उप–महासचिव जनार्दन शर्माले माओवादी आन्दोलनलाई एकतावद्ध गर्दै वामपन्थी एकताका लागि ठूलो छाति बनाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिएका छन् । आज (शनिबार) चितवनमा आयोजित बेपत्ता योद्धा दण्डपाणि न्यौपानेको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराईलगायत धर्मेन्द्र बास्तोलासमेतलाई पार्टीमा एकतावद्ध गर्नुपर्ने बताएका हुन् ।

‘अब हामी माओवादी आन्दोलन र वास्तविक कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि हामीले नयाँ ढंगले सोच्न जरुरी छ, नयाँ ढंगले अगाडि बढ्न जरुरी छ । त्यसका लागि केही सैद्धान्तिक, केही व्यवहारिक र केही असन्तुष्टिका कारणले तितरवितर भएको माओवादी आन्दोलनलाई फेरि एकतावद्ध गर्नका लागि हामीले ठूलो छाती गर्नुपर्छ । हामीले त्याग गर्नसक्नुपर्छ, सबैलाई समेट्न सक्नुपर्छ । किरणजी, बाबुरामजी र विप्लवजीलगायत गोपाल किराती, विश्वभक्तजी, धर्मेन्द्रजीलगायत दर्जनमा विभक्त माओवादीलाई संगठित गरौं । सँगै अरु वामपन्थीहरुलाई पनि एकतावद्ध गरेर अगाडि बढौं,’– उनले भने ।

अहिलेको वर्तमान सत्ता गठबन्धनले संघीयता र समावेशितालाई नजरअन्दाज गरिरहेको उनले बताए । यस्ता तमाम खेलहरुलाई परास्त गर्दै समाजवादी दिशमा लाग्न वामपन्थी एकता आवश्यक रहेको उनले बताए । राजनीतिलाई बदलाको भावनामा नहेर्न पनि उनले वर्तमान सरकारलाई सुझाव दिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्