Logo

घर-घरमा गएर जनताको चाहना र आवश्यकता बुझ्न एमाले नेता बस्नेतको निर्देशन



काठमाडौं, ३ कार्तिक । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले घर–घरमा गएर जनताको आवश्यक्ता र चाहना बुझ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । मध्यपुर थिमी– ३ को दोस्रो वडा अधिवेशनलाई सम्बोधन गर्दै उनले जनताको माग, चाहना र आवश्यकतालाई एमाले नेतृत्वले विकास र समृद्धिसँग जोड्नुपर्ने बताए । सरकारको नेतृत्व एमालेले गरिरहेको अवस्थामा जनताको समस्या र आवश्यक्तामा आधारित भएर काम गर्न सके आगामी निर्वाचनमा परिणाम राम्रो आउने उनले बताए ।

‘जनताको घर–घरमा, टोल–टोलमा जाऔं, जनताको चाहना र आवश्यकता बुझौं । त्यसलाई बोकौं र हिडौं । अबका वडा कमिटीले नेतृत्वलाई परिचालित गरोस् । हामी हरेक ठाउँमा तपाईहरु सँगसँगै हिड्न तयार छौं । वडा सहित तीन वटै तहको नेतृत्व एमालेले गरेमात्रै विकास गर्न सकिन्छ ।’ नेता बस्नेतले भने, ‘माथिल्लो नेतृत्वमा जित्दा तथा वडामा हार्दा अपेक्षाकृत विकास गर्न नसकिएको अघिल्लो एमालेको कार्यकालको सिकाई रहेको छ । वडाले सिफारिस नदिएका कारण विकासलाई रोकनुपरेको प्रशस्त उदाहरणहरु छन् । बजेट प्रयोग गर्न सकिएन । तसर्थः चुनाव जिताउने कुरामा लाग्नुपर्छ ।’

एमाले भक्तपुरका सम्पूर्ण वडादेखि जिल्लासम्मका कमिटीहरुले आगामी २०८४ सालको निर्वाचनमा जित्ने र जिताउने संकल्प गर्नुपर्ने उनले बताए । त्यस्तै, अहिले एमालेविरुद्धमा चौतर्फी रुपमा आक्रमण भइरहेको बताउँदै उनले सचेत रहन आग्रह गरे । File Photo



प्रतिक्रिया दिनुहोस्