Logo

ओली-देउवाले चाहेमात्रै यो सरकार ढल्छ, अरु कसैले दुःख नगर्दा हुन्छः सूर्य थापा (भिडिओसहित)



काठमाडौं, ४ कार्तिक । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले केपी शर्मा ओली र शेरबहादुर देउवाबाहेक अरुले चाहेर वर्तमान सरकार नढल्ने ठोकुवा गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार ढाल्न अरु कसैले दुःख नगर्दा हुने बताएका हुन् । नेता थापाले आफू वा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चाहेर पनि यो सरकार नढल्ने दाबी गरे ।

‘अहिले सरकार ढाल्नुपर्ने, त्यस्तो कमजोर त्यान्द्रोमा यो सरकार उभिएको छैन । एमालेले चाह्यो, केपी शर्मा ओलीले चाहनुभयो भने यो सरकार ढल्छ । एमालेमा मैले चाहेर ढल्दैन । नेपाली कांग्रेसले चाहेन भनेपनि यो सरकार टिक्दैन । गगन थापा, विश्वप्रकाश शर्माले चाहेर पनि ढल्दैन । केपी शर्मा ओली र शेरबहादुर देउवाले चाहनु भयो भने यो ढल्छ । अरु बाँकीको हकमा दुःख नगर्नुस्,’– उनले भने ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापतिसमेत रहेका नेता थापाले वर्तमान सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति कुनै पूर्वाग्राह नराखेको बताए । उनले लामिछाने राजनीतिमा आफूभन्दा पनि जुनियर रहेको बताउँदै केपी ओली र शेरबहादुर देउवाले पूर्वाग्राह राख्नुपर्ने कुनै कारण नरहेको बताए ।

‘सहकारी ठगीको यति ठूलो तथ्यहरुमा, प्रमाणहरुमा फसेको मान्छे केपी ओलीको प्रतिस्पर्धी हो ? शेरबहादुर देउवाको प्रतिस्पर्धी हो ? रवि लामिछानेजी त राजनीतिमा म भन्दा पनि जुनियर हो । केपी ओलीसँगको कुरा नगर्नु न । म २०७१ सालदेखि पार्टीको केन्द्रीय नेतृत्वमा छु । उहाँ २०७९ सालमा पार्टी बनाएर सभापति हुनुभएको हो । उपप्रधान, गृहमन्त्री हुनुभयो । त्यो बनाएर हुनुभएको हो,’– उनले भने ।

रास्वपा सभापति लामिछाने पक्राउ परेपछि प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी सुरु भएको प्रसंग उल्लेख गर्दै उनले रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकलाई घृणाको राजनीति नगर्न आग्रह गरे । ‘प्रधानमन्त्रीले गल्ती गर्नुभएको छ भने ती नाराको अर्थ हुन्छ । घृणा अभियानको के अर्थ हुन्छ ?’ उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्