Logo

सहकारी ठगी प्रकरणमा ऋषिकेश र धनराज दोषी होईनन्ः सूर्य थापा (भिडिओसहित)



काठमाडौं, ४ कार्तिक । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापतिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले धनराज गुरुङ र ऋषिकेश पोखरेल सहकारी ठगीमा संलग्नता नरहेको दाबी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले धनराज र ऋषिकेशको सहकारीमा कहीँ कतै इन्भल्व नरहेको बताएका हुन् ।

‘ऋषिकेश पोखरेल आफू कतै सहकारीमा इन्भल्व होईन । उहाँ दोषी होईन । धनराज गुरुङ आफू इन्भल्व होईन । धनराज गुरुङको श्रीमती ज्योति गुरुङ मितेरीको जिएम हो । उहाँ प्रबन्धक (जिएम) हुँदा २०७५ सालमा सहकारीले आन्तरिक छानविन गर्दा १२ करोड ५० लाख अपचलन गरेको रिपोर्ट निकाल्यो । २०७६ सालदेखि नै उहाँ फरार हुनुहुन्छ । संसदीय समितिले खोजी गरेर छानविनको दायरामा ल्याउनुस् भनेर सिफारिस गरेको सूचीमा धनराज गुरुङको पूर्व श्रीमती, उहाँले २०७६ सालमा सहकारी डिभोर्स गर्नुभएको छ । उहाँलाई हामीले खोजेर छानविन गरियोस् भनेका छौं । धनराजजीको लागि छानविन गर्न हामीले सम्बन्धित निकायमा निर्देशन नै दिएका छौं,’– उनले भने ।

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङकी श्रीमती ज्योति गुरुङमाथि ललितपुरको मितेर बचत तथा ऋण सहकारी संस्थाको १२ करोड ५० लाख बचत अपचलन गरेको आरोप छ । उनी हाल फरार छिन् । धनराज र ज्योतिबीच २०७६ सालमा सम्बन्धविच्छेद भएको भनिएता पनि उनीहरुले सहकारीको काण्ड मिलाउन त्यसो गरेको आरोप लाग्दै आएको छ ।

त्यस्तै, प्रतिनिधि सभाअन्तर्गतका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पनि श्रीमतीको कारण विवादमा छन् । मोरङमा रहेको उमा गौरी कृषि सहकारी ठगी प्रकरणमा पोखरेलकी श्रीमती अञ्जला कोइरालाको संलग्नता रहेको आरोप छ । सो सहकारीबाट १४ करोड ५६ लाख हिनामिना भएको र १० वर्षका कागजात नै गायव गरिएको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस्