Logo

सिंगो रास्वपा नै कानुनको शासनविपरीत र अराजक प्रवृत्तिमा लागेको छः वरिष्ठ अधिवक्ता भण्डारी (भिडिओसहित)



काठमाडौं, ४ कार्तिक । संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले सिंगो राष्ट्रिय स्वतन्त्र पार्टी नै गलत प्रवृत्तिमा लागेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुनै पनि अभियोग लागेको व्यक्तिलाई छाड्नुपर्छ भनेर सडकमा आउनु लोकतन्त्रको उपहाँस रहेको बताएका हुन् । लामिछानेको रिहाइको माग गर्दै रास्वपा सडकमा आउनुलाई उनले गैर लोकतान्त्रिक र कानुनको शासनको विपरीत र अराजक प्रवृत्तिको संज्ञा दिएका छन् ।

‘लोकतन्त्रको आत्मा भनेकै कानुनको शासन हो । कानुनको शासन भन्नुको अर्थ के हो भने कुनै पनि व्यक्तिमाथि अभियोग लाग्नुको अर्थ उ दोषी छ भन्ने होईन । तर, सम्बन्धित निकायले छानविन गर्न पाउने, मुद्दा अदालतमा दर्ता हुन पाउने र अदालतले निसाफ गर्ने हो । व्यक्ति दोषी हो वा होईन भन्ने कुरा अदालतले हेर्ने हो । दोषारोपित भएको व्यक्तिलाई रिहाई गरिनुपर्छ, निर्दोष छ, हामी सत्ता परिवर्तन गर्छौं भन्ने कुरा गैर लोकतान्त्रिक र कानुनको शासनको विपरीत र अराजक प्रवृत्ति हो ।’ उनले भने, ‘कुनै पनि राजनीतिक दल, त्यसका नेता र कार्यकर्ताको भूमिका के हुनुपर्छ भने उसले कानुनको शासन र लोकतन्त्रलाई संरक्षण गर्ने हुनुपर्छ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र नेताहरुको भूमिका रवि लामिछानेजीमाथि जुन अभियोग लाग्यो, त्यसमा निश्पक्ष र स्वतन्त्र छानविन हुन्छ । उहाँलाई कानुनको दायरामा ल्याएपछि अदालतले निर्णय गर्छ भन्ने हो । सडकमा निस्किएर रवि लामिछानेको बचाउ गर्ने, सिंगो पार्टी नै त्यस किसिमको स्क्यामको बचाउ गर्ने हो भने सिंगो पार्टी नै गलत प्रवृत्तिमा लागेको छ । त्यसले सिंगो लोकतन्त्रलाई दुषित बनाएको छ, उहाँहरुको सिंगो राजनीतिक धरातल नै गलत छ ।’



प्रतिक्रिया दिनुहोस्