Logo

मीनबहादुरको दाने जग्गा नलिने निष्कर्षमा ओली, सचिवालय बैठकले निर्णय लिँदै



काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक डाकेका छन् । आज साँझ ५ बजेका लागि ओलीले सचिवालय बैठक डाकेका हुन् । आजको बैठकमा समसामयी राजनीतिक घटनाक्रमको साथै पार्टी कार्यालय बनाउन भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरु«ले दिएको जग्गा दान र भइरहेको विरोधबारे निर्णय हुनेछ ।

भाटभटेनीका विवादित मालिक मीनबहादुर गुरुङबाट ‘दान’ स्वरूप प्राप्त जग्गा निर्माण गर्ने भनिएको विषय पार्टीबाहिर मात्र होइन, पार्टीभित्रै समेत विवादित बनेपछि यस विषयमा ‘समान धारणा’ का साथ प्रस्तुत हुने निर्णयका लागि आजको बैठक बोलाइएको हो।

यसअघि शनिबार साँझ ओलीले सचिवालय सदस्यलाई डिनर मिटिङमा डाकेर छलफल गरेका थिए । सो छलफलपछि मीनबहादुरको दाने जमिन फिर्ता गर्ने निष्कर्षमा ओली पुगेको स्रोतको दाबी छ । ओलीमाथि व्यवसायी गुरूङबाट जग्गा दानमा लिएर पार्टी कार्यालय बनाउने निर्णयबाट ब्याक हुन तीव्र दबाब परेको छ । मध्य दशैंको छेको पारेर अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरुलाई पनि थाहै नदिई व्यवसायी गुरुङबाट जग्गा दानमा लिने र सो भवनपनि गुरुङले नै निर्माण गरेर अर्को वर्षको फूलपातीमा हस्तान्तरण गराउनेगरि शिलान्यास गरेपछि एमालेभित्र मात्र नभएर समग्र राजनीतिक माहोल तातिएको छ ।

खासगरी सचिवालय बैठकमा समेत कोही पनि नेतालाई गुरुङबाट जग्गा दान पाउने र उनैले भवन निर्माण गरिदिने कुरा कसैलाई पनि थाहा नभएको कुरा बाहिरिएको छ । एमालेकै जिम्मेवार नेताहरुले पार्टीको लिगेसीलाई ध्वस्त पार्ने निर्णय भएकोले तत्काल ब्याक हुन सार्वजनिक रुपमै नेतृत्वमाथि दबाब बढाएका छन् । यो विषयले राष्ट्रिय राजनीति नै तातिएको हो ।

कांग्रेसका नेताहरुले समेत व्यवसायीबाट जग्गा दान लिने र भवन बनाउने कुरा अशोभनीय भएको भनेर आलोचना सुरु गरेका छन् । स्वयम दानवीर मीनबहादुरको पनि सार्वजनिक रुपमै आलोचना भएको छ । उनीमाथि पनि यो निर्णयबाट ब्याक हुन दबाब परेको छ । गुरुङले आफू एमालेको शुभचिन्तक र एमाले समर्थक भएको नाताले जग्गा दान दिएको र भवनपनि बनाईदिन लागेको भनेर आफ्नो निर्णयको बचाउ गर्दै आएका छन् ।

प्रधानमन्त्री ओली र व्यवसायी गुरुङमध्ये एकजनाले उक्त निर्णयबाट एकजनाले ब्याक हुनेगरि समझदारी बनेको चर्चा छ । प्रधानमन्त्री ओलीले आजै साँझसम्म एउटा निश्कर्षमा पुग्नेगरि छलफल चलाएका छन् । साँढृ ५ लाख पार्टी सदस्य भएको एमालेले आँफै पार्टी कार्यालय बनाउने सार्मथ्य राख्ने एमाले नेतृ विन्दा पाण्डेको भनाई छ ।

उनले पनि नेतृत्वलाई पार्टीको शीर झुकाउने निर्णयबाट तत्कालै फिर्ता हुन आह्वान गरेकी छिन् । सुरुमा अध्यक्ष ओली पक्षधर नेताहरुले व्यवसायीबाट जग्गा दानमा लिनु र भवन बनाईनु अपराध नभएको भन्दै बचाउमा उत्रिएका थिए । तर, बिस्तारै पार्टीको समग्र जीवनमा नै क्षति पुग्ने विश्लेषणसहित अध्यक्ष ओली आफ्नो उक्त कदमबाट ब्याक हुनेगरि लचक भएका छन् ।

यता मीनबहादुरले आफ्नो भनेर दिएको जग्गासमेत अरु व्यक्तिको भएको खुलासा भएको छ । मीनबहादुरले पार्टी कार्यालय बनाउन शिल्यान्यास गरेको जग्गा अर्का विवादित व्यापारी कालु गुरुङको भएको खुलेको छ । गुरुङ विभिन्न काण्डमा मुछिएका घरजग्गा व्यापारी हुन् । उनले मीनबहादुरको भक्तपुरमा भएको जमिनसँग साटेर कीर्तिपुरको जग्गा पार्टी कार्यालयलाई दिन सहमत भएको तर, नामसारी नभएको खुलासा भएको छ ।

यता सचिवालय बैठकमा ओलीले मीनबहादुरको नाम नलिइ एक जना दानवीरले जग्गा दिन लागेको कुरा बताएपनि एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल स्वयंले मीनबहादुरसँग जग्गा मागेको खुलासा भएको छ । सो खुलासा जग्गा दिने दानवीर स्वयं गुरुङले गरेका हुन् । हिमालय टेलिभिजनबाट प्रशारित हुने ‘यक्षप्रश्न’ मा राजेन्द्र बानियाँसँगको कुराकानीमा गुरुङले के कुराको खुलासा गरेका छन् भने पार्टी कार्यालयको भवन निर्माण गरिदिन एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरू आफै गुरुङसमक्ष पुगेका थिए।

गुरुङका भनाइमा, पोखरेल लगायतका नेताहरूले उनीसँग आफूहरूसँग रहेको जग्गामा गुरुङको तर्फबाट भवन बनाइदिन प्रस्ताव गरेका थिए। त्यसपछि उनले पार्टी भवन मात्रै होइन, १० रोपनी १४ आना जग्गा नै दिने मात्र नभएर अर्को वर्षको दशैंमा सुविधा सम्पन्न भवन बनाएर हस्तान्तरण गरिदिने घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्