Logo

प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा पर्सनमाथि रास्वपाका कार्यकर्ताद्धारा हातपात, महासंघले गर्‍यो निन्दा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा पर्सनमाथि रास्वपाका कार्यकर्ताद्धारा हातपात भएको छ ।

आज बिहान ११ः३० बजेतिर पोखराको शहीद चोकमा सभापति लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले निषेधाज्ञा तोड्दै जुलुस निकोलेका थिए ।उक्त जुलुसको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा रास्वपाका कार्यकर्ताले हाम्रो पार्टीविरुद्ध समाचार प्रसारण गर्ने यही टेलिभिजन हो भन्दै प्रत्यक्ष प्रसारणमा संलग्न पत्रकारद्वय निरज तामाङ, अनिता घिमिरे र क्यामेरा पर्सन अर्जुन भण्डारीमाथि हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास गरिएको हो ।

यसैबीच आन्दोलनरत पार्टीका कार्यकर्ताले गरेको हातपात र तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नागरिकलाई सुसूचित गराउन सञ्चारकर्ममा खटिरहेका पत्रकारमाथि एउटा स्थापित पार्टीका कार्यकर्ताबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको महासंघको ठहर छ। ‘यो घटनाले पत्रकारको र नागरिकको संविधानप्रदत्त अधिकारमा हस्तक्षेप भएको महासंघको ठहर छ । महासंघ घटनाको कडा शब्दमा भत्र्सना गर्दछ’ महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई निर्धक्क र निर्वाध रुपमा सञ्चारकर्ममा जुट्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै महासंघले संविधानले सुनिश्चित गरेको पूण प्रेस स्वतन्त्रताको ख्याल गरी त्यसलाई सम्मान गर्न सम्बन्धित पार्टीको पनि ध्यानाकर्षण गराएको छ ।



प्रतिक्रिया दिनुहोस्