Logo

एनपीएल: पोखराले नेदरल्यान्ड्सका लिडेलाई भित्र्याउँदा स्कटल्याण्डका म्याकमुलेन सुदूरपश्चिममा अनुबन्धित



काठमाडौं । आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विदेशी खेलाडी भित्र्याउने चटारोमा रहेका फ्रेन्चाइज टिमले धमाधमी विदेशी खेलाडी अनुबन्ध गरिरहेका छन् । एनपीएलका लागि सुदूरपश्चिम रोयल्सले पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

सुदूरपश्चिमले आज स्कटल्याण्डका ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलेनले अनुबन्ध गरेको छ । २५ वर्षीय ब्रान्डनले टी-२० आईका १६ खेलमा ४९७ रन बनाएका छन् । २२ ओडीआई खेलमा ब्रान्डनले ७२१ रन जोडेका छन् ।

२२ ओडीआई खेलमा ३० विकेट लिँदा टी-२० आईका १६ खेलमा २ विकेट लिएका छन् । ब्रान्डनले टी-२० आईमा सन् २०२३ जुलाई २० मा जर्मनीविरुद्ध डेब्यु गरेका थिए ।

सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन् । सुदूरपश्चिम रोयल्सले प्रशिक्षकमा भने नेपाली राष्ट्रिय टिमा पूर्वप्रशिक्षक जगत टमाटालाई नियुक्त गरेको छ

सुदूरले पहिलो विदेशी खेलाडी भित्रयाउँदा पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडीका रूपमा नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडेलाई अनुबन्ध गरेको हो । सामाजिक सञ्जालमार्फत पोखरा एभेन्जर्सले लिडेलाई टिममा अनुबन्ध गरेको जानकारी दिएको छ । २४ वर्षीय लिडेले नेदल्यान्ड्सको राष्ट्रिय टिमबाट टी-२० आईका ३५ खेलमा ६९७ रन जोडेका छन् भने ३३ विकेट लिएका छन् ।

यसअघि पोखरा एभेन्जर्सले पहिलो विदेशी खेलाडीका रूपमा अमेरिकन ब्याटर ३० वर्षीय आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो । पोखराको मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल हुन् ।

पोखराले चेन्नई सुपर किंग्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक राजीव कुमारलाई आफ्नो मुख्य प्रशिक्षक बनाएको छ । नेपाल प्रिमियर लिग १५ मंसिरदेखि ६ पुससम्म हुँदै छ ।



प्रतिक्रिया दिनुहोस्