Logo

सीके राउतको दोहोरो चरित्र: मधेशमा मुख्यमन्त्री पड्काउने, संघीय सरकारविरुद्ध जनता भड्काउने



काठमाडौं । ०७९ सालको संघीय निर्वाचनमा राष्ट्रिय दल बनेर एकाएक राजनीतिमा उदायको जनमत पार्टी अहिले सत्तारुढ पार्टी हो । जनमतको नेतृत्वमा मधेश सरकार छ, भने संघ सरकारलाई समर्थन गरिरहेको छ ।

जनमत पार्टीका सांसद सतिसकुमार सिंह मधेश प्रदेशमा मुख्यमन्त्री छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको नेतृत्वमा बनेको संघ सरकारलाई समर्थन जनाएको छ । संघ सरकारलाई समर्थन जनाएको जनमत पार्टी र यसका अध्यक्ष डा. सीके राउतले भने द्धैध चरित्र देखाइरहेका छन् । नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको संघीय सरकार र सोही सत्ता गठबन्धनले समर्थन गरेको प्रदेश सरकार चलाइरहेका राउत पछिल्ला दिनमा सत्तापक्ष भन्दा बढी प्रतिपक्षी दलको नेताको रूपमा प्रस्तुत हुँदै आएका छन् ।

शुक्रबार सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि सबैभन्दा पहिले राउतले विरोध जनाउँदै सरकारको कार्यशैलीलाई निरंकुशताको संज्ञा दिए।‘२१ सीट भएको नयाँरराष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राऊलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिन’ सरकारको कार्यशैलीप्रति विरोध जनाउँदै उनले भनेका थिए।

राउतले रविलाई पक्रनु सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको दाबी गर्दै भावी पुष्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिए जिकिर गरेका थिए । रविको पक्राऊ राज्यद्वारा ‘फ्रेमिङ्ग’ गरिएको दाबी गर्दै राउतले भनेका थिए ‘हाम्रो धरातल र कैयन् एजेण्डा फरक होला, कतिपय ठाउँमा हामी विपरीत धारमा पनि उभिएका छौं, तर लोकतन्त्रमा प्रतिशोध र निषेधको राजनीति हुनुहुँदैन भन्नेमा हाम्रो मतैक्यता छ। आशा छ, रविजी यसबाट सफलतापूर्वक निस्किनु हुनेछ’।

शुक्रबार सरकारको कार्यशैलीको विरोध जनाएका सीके राउतले आइतबार आन्दोलनमा होमिन तयार रहन कार्यकर्तालाई निर्देशन दिने निर्णय गर्दै सरकारविरुद्ध आन्दोलनमा हामिने तयारी गरेका थिए । आइतबार बसेको जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले देशको विषम परिस्थितिलाई दृष्टिगत गरी सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिने निर्णय गरेको हो ।

त्यसोत, सत्तारुढ भएपनि जनमत पार्टीले यसअघि पनि सरकारको निर्णयप्रति असहमति जनाउँदै आएको छ । अमेरिकी दूतावासलाई अन्तर्वार्ताको समय मिलाइदिन उपसभामुख इन्दिरा रानाले पत्र लेखेको विषय विवादमा तानिएपछि सत्तारुढ दलले रानालाई महाअभियोग लगाएर हटाउने तयारी गरेको थियो । जनमत पार्टीको विरोधकै कारण सरकारले दुईतिहाइ बहुमत जुटाउन नसक्दा सो कदमबाट पछि हट्न परेको थियो ।

एकातिर सत्तारुढ दलकै समर्थनमा मधेश प्रदेश सरकार चलाउने र अर्कोति केन्द्र सरकारविरुद्ध आन्दोलनमा होमिन लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर रुपमा लिएको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले राउतले द्धैध चरित्र देखाएको भन्दै यसबारेमा सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरुसँग पनि कुरा गरिसकेका छन् । राउतले आगामी दिनमा चाल्ने कदमलाई हेरेर सरकारले आवश्यक निर्णय लिने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्