Logo

एमालेको दाने जग्गाबारे प्रचण्डको प्रतिक्रियाः ओली सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि भयो



काठमाडौं, ५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्त्री केपी शर्मा ओलीले नै वर्तमान सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको टिप्पणी गरेका छन् । प्रेस सेन्टर जुम्लाको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको आरोप लगाउँदै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताएका हुन् ।

‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो । भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दैछ । तपाइँहरुले सबै देखिरहनुभएको छ,’– अध्यक्ष प्रचण्डले भने, ‘मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबरजस्ती व्यक्तिमा नाममा लैजाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो । अदालतमा मुद्दा पनि चलिहरकेो छ । तिनै व्यवसायीबाट जग्गा दान लिनेजस्तो कार्य गरेर प्रधानमन्त्री आफैंले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् ।’

सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने बताए । ‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य बिरोधका कार्यक्रम गरेका छैनौं । आज मात्रै हामी बिपक्ष दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिंदैछौं र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन्,’– उनले भने ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रियरुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदी लिइरहेको बेला संसदका पहिलो र दोस्रो दलले अस्वभाविक र अप्राकृतिकरुपमा आफूलाई हटाएको बताए । ‘देशमा महत्वपूर्ण उपलब्धि भइरहेको बेला हामीले भ्रष्टाचारीलाई कारबाही बढाउँदै लगेको देखेपछि खासगरी नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरेपछि बुढानिलकण्ठ र बालकोटमा निकै ठूलो भूकम्प गयो र रातारात अस्वभाविकरुपमा सरकार बनाइयो,’– उनले भने ।

उनले आफूले सरकारको नेतृत्व गरेको बेलामा देशभित्र जनताको आशा जगाउँदै विश्व समुदायमाझ पनि नेपालको प्रतिष्ठा प्रवर्धनलाई अघि बढाएको बताए । दुई छिमेकी देशको भ्रमणमा ऐतिहासिक समझदारीहरु भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘संयुक्त राष्ट्रसंघको महासभा, विश्व खाद्य सम्मेलन, कोप २८ सम्ममा लिएको हस्तक्षेपपूर्ण पहलकदमीले विश्वको ध्यान नेपालतर्फ आकर्षित भएको थियो ।’

महासभाका क्रममा संयुक्त राष्ट्रसंघका महासचिवलाई निम्तो दिएर विभिन्न युद्धको जटिल अवस्थामा समेत महासचिव नेपाल आउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले भने, ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट उहाँ र मैले विश्व शान्तिका लागि अपिल गरेका थियौं । यी सबै पहलकदमीले विश्वको ध्यान नेपालमा तानिएको थियो भने नेपालको पक्षमा अन्तर्राष्ट्रिय जनमत राम्रो बनेको थियो ।’



प्रतिक्रिया दिनुहोस्