Logo

ओलीले चाहँदैमा एकीकृत समाजवादी नफुट्नेमा माधव नेपाल ढुक्क



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्लामा कुनै पनि सत्यता नरहेको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा बसेको पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टी फुट्ने हल्लामात्र भएको बताए ।

‘हाम्रो पार्टी फुट्दै छ भनेर हल्ला चलाइएको मैले पनि सुनिरहेको छु । यो हल्ला नियोजित रूपमा कसैले चलाएको हो । यसमा कुनै सत्यता नभएकाले यसका पछि नलाग्न आग्रह गर्न चाहन्छु’, उनले भने ।

अध्यक्ष नेपालले पार्टी पनि नफुट्ने र अझै सशक्त भएर अगाडि बढ्ने भन्दै त्यसै अनुसार काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन तयारी गरेको चर्चापछि (एकीकृत समाजवादी) मा विभाजनको त्रास देखिएको छ । (एकीकृत समाजवादी) लाई फुटाउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने तयारी गरेका थिए । तर,नेपाल भने ओलीले चाहँदैमा तत्काल अध्यादेश नआउनेमा ढुक्क देखिएका छन् ।

(एकीकृत समाजवादी) का कतिपय सांसद तथा नेताले एमाले फर्किने उपयुक्त समय कुरेर बसेको बताइन्छ । रामकुमारी झाँक्री, किसान श्रेष्ठ, प्रेम आले, वंशीधर मिश्रलगायतका नेताहरू एमालेमा फर्किने तयारीमा रहेको बताइन्छ ।

एमाले नेताहरूले (एकीकृत समाजवादी) का १० मध्ये ५ सांसद आउने दाबी गर्छन् । तिनै सांसदलाई पार्टीमा ल्याउन अध्यादेश ल्याउने तयारी ओलीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्