Logo

माओवादी केन्द्रको एसिया महादेश संगठन समितिद्वारा बाढीपीडितलाई आठ लाख बढी सहयोग



काठमाडौं, ६ कात्तिक । नेकपा (माओवादी केन्द्र) एसिया महादेश संगठन समन्वय समितिले बाढीपहिरो पीडितका लागि आठ लाख ३८ हजार तीन सय ३९ रुपैयाँ सहयोग गरेको छ । समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा, केन्द्रीय सदस्य डिबि क्षेत्री, प्रवास प्रदेश कार्यालय मुख्य सचिव टिबी पाठक, प्रदेश समिति सहसचिव दीपक पुन र सदस्य ईश्वर कठायतले चेक हस्तान्तरण गरेका थिए ।

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि एसिया महादेश संगठन समन्वय समितिलाई धन्यवाद दिए । नेपालमा पटक–पटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उनले यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बर्ताए ।

बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उनले प्रवासका पार्टी कमिटीहरुले पनि योगदान गरेकोमा प्रशंसा गरे ।

उनले पार्टी कार्यालयमै हेल्प डेस्क स्थापना गरेर विपत क्षेत्रको क्षतिको अद्यावधिक गरिएको, केन्द्रीय राहतकोष स्थापना गरिएको, विज्ञहरुको टोलीले गरेको घटनास्थलको अध्ययनका आधारमा तयार पारेकोे पार्टीको ज्ञापनपत्र सरकारलाई बुझाइसकिएको र हिजोसम्म आउँदा बिपक्षी दलहरुको तर्फबाट पनि तत्काल राहत र पुनर्स्थापनाको काम गर्न ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।

मानवीय विपतको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टी कमिटीहरुले यसपटक दसैं तिहारको शुभकामना आदानप्रदान नै नगरी पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न गर्ने कार्यक्रम बनाएको बताए ।



प्रतिक्रिया दिनुहोस्