Logo

रविको बचाउमा उत्रिएको रास्वपामाथि लाग्यो गम्भीर आरोप, सहकारी पीडितले भने: हामीलाई घरघरमा आएर धम्क्याइयो



काठमाडौं । सुर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र पोखरा सहकारी बचत पीडित संघ पीडित कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताबाट सहकारी पीडित लखेटिएको आरोप लगाएका छन् । बुधवार विज्ञप्ति जारी गर्दै समितिले रास्वपाका कार्यकर्ताबाट सहकारी पीडित लखेटिएको र कुटिएको आरोप लगाएका हुन् ।

सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बचाउमा उत्रिएका कार्यकर्ताले सूर्यदर्शनसहितका सहकारीपीडितलाई घरघरर पुगेर धम्क्याउने र प्रभावित पार्ने प्रयत्न गरेको आरोप लगाएका छन् ।

‘मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचाउ अभियानमा उक्त पार्टीका नेता र कार्यकर्ताहरूले पोखराको शान्त वातावरण नै बिथोल्ने गरी पीडित बचतकर्ताबिरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोल टोल र घर घरमा पुगी पीडित बचतकर्तालाई भड्काउने गरेको काम प्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ,’ बुधबार एक विज्ञप्ति जारी गरी उनीहरुले भनेका छन् ।

रास्वपा सरकारमा हुँदा समेत आफूहरूले गुहार माग्दा कुनै सहयोग नपाएको सूर्यदर्शन बचत पीडित सङ्घर्ष तथा तदर्थ समिति पोखराले गुनासो गरेको छ ।

‘विगत २ वर्ष अगाडि देखि यो पार्टी सरकारमा हुँदा या नहुँदा पार्टीका नेताहरूलाई हार गुहार गर्दा, कैयन पटक ज्ञापन पत्र बुझाउँदा पीडितको समस्या समाधानका निम्ति बिन्ती बिसाउँदा पनि कहिल्यै कुनै सर सहयोग नभएको कुरा छर्लङ्ग छ ।,’ विज्ञप्तिमा भनिएको छ, ‘तर आज पार्टी सभापति नै अनुसन्धान को दायरामा आउँदा झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो की जस्तो गरी टोलटोलमा गरिएको भाषणले जब पार्टी सभापति पक्राउ परे तब घैँटोमा धाम लागेजस्तो देखिएको छ । यो विषयले हामी सहकारी पीडित झनै सशङ्कित भएका छौँ ।’

सहकारी पीडितहरूले आफ्नो गम्भीर विषयमा राजनीति भइरहेको गुनासो गरेका छन् । ‘विगत १० महिना अघि नै उहाँको पार्टी सभापति विरुद्ध परेको किटानी जाहेरीको विषयमा के हेरिरहनु भयो ? किन कहिल्यै पीडित बचतकर्तासँग कुनै सर सल्लाह भएन ?,’ उनीहरुले प्रश्न गरेका छन्, ‘त्यसैले अहिलेको यो प्रदर्शन र कार्यक्रमको कुनै औचित्य नभएको प्रस्ट छ ।’ बचत फिर्ताको माग गर्दै उनीहरुले बिहीबार बिहान मुस्ताङ चोकमा वृहत प्रदर्शन गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्