Logo

नागरिकमा आशा जगाउन ओली सरकार चुकेको प्रचण्डको निष्कर्ष, विपक्षी दलले आज राष्ट्रपतिलाई ध्यानाकर्षण बुझाउने



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले नागरिकलाई आशा जगाउने कुनै पनि काम गर्न नसकेको दाबी गरेका छन् । उनले नागरिकलाई आशा जगाउने हिसावले सरकार पूर्ण रुपमा असफल भएको उनको भनाइ छ ।

आज बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीसँगको भेटमा उनले सरकारका विषयमा यस्तो टिप्पणी गरेका हुन्।

‘यो सरकार गठन भएको सय दिन पुगेको छ, सरकार गठन हुँदा नै हामीले जे आशंका गरेका थियौँ, एक सय दिनकोबीचमा त्यसलाई नै पुष्टि गर्ने काम सरकारले गरेको छ’, प्रचण्डले भने, ‘विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुलेसमेत सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका छन्। यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ।’

त्यस्तै माओवादी केन्द्रसहितका विपक्षी दलले आज राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाउने भएका छन् । दिउँसो ४ बजेपछि प्रचण्डसहितका नेताहरु राष्ट्रपति भेट्न शीतल निवास जाने प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विपक्षी दलहरूले १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो । सरकारको सय दिनको काम असफल भएको विपक्षी दलहरूको निष्कर्ष छ । विपक्षी दलहरूमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, रास्वपा, राप्रपा र अजपा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्