Logo

१०० दिने उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले भने: आफूले सक्छु भनेको ७० प्रतिशत काम सम्पन्न भयो



काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले अति भारी वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका ३९१ जनाको परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको जानकारी दिएका छन् ।

आफूले सत्ता सम्हालेको १०० दिन पुगेको अवसरमार सम्बोधन गर्दैप्रधानमन्त्री ओलीले गत असोजको दोस्रो साता आएको विपद्मा परी ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप प्रतिव्यक्ति दुई लाखका दरले राहत रकम वितरण गरिएको बताए । ‘विपद्मा परी ज्यान गुमाएका ३९१ जनाको परिवारले २ लाखका दरले राहत रकम पाएका छन् । बाढीबाट प्रभावित २ हजार ५५५ जनालाई ४ करोड ५० लाख राहत रकम दिईएको छ । संकटग्रस्त भनेर घोषणा गरिएका देशका विभिन्न ७१ स्थानीय तहलाई ४३ करोड रहक सहायता उपलब्ध गराईएको छ’ प्रधानमन्त्री ओलीले भने ।

। विपद् लगत्तै गृहमन्त्री रमेश लेखकले मृतकका परिवारलाई राहत रकम वितरण, घाइतेको निःशुल्क उपचार, अवरुद्ध सडक सञ्चालनमा जोड दिनुका साथै लाभग्राहीको विवरण संकलन गरी सहयोग गरिने विषय प्राथमिकतामा राखेका थिए । असोज दोस्रो साताको विपद्मा परी १७७ जना घाइते भएका थिए भने १८ जनाको अवस्था अझै अज्ञात छ ।

विपद्का बेला नेपाली सेनाको हेलिकप्टर देखि सुरक्षा संयन्त्र प्रभावित क्षेत्रमा खटिएर नागरिकको खोज तथा उद्दार, राहत वितरण र घाइतेको उपचार लगायतको व्यवस्थापनमा खटिएको थियो ।

त्यसैगरी सरकारले विपद् प्रभावित जिल्लाका प्रभावित पालिकालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । भने प्रभावित पालिकालाई ५० लाखदेखि १ करोडसम्म राहत रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

त्यस्तैं ओलीले सय दिनमा ७० प्रतिशत काम गरेको दाबी गरेका छन् । उनले साउन ६ गते संसद्‌‌मा विश्वासको मत लिँदा सरकारका पाँच प्राथमिकता प्रस्तुत गरेको बताए ।

“पहिलो सय दिनभित्र सबै मन्त्रालयले गर्ने भनेको कामको संख्या २७४ वटा पुग्यो । तीमध्ये १८५ वटा काम सम्पन्न भएका छन् । अर्थात्, यस सरकारले आफूले सक्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस्