Logo

नारायणीमा प्रधानमन्त्री ओलीको सांकेतिक शव नजलाएको रास्वपाको प्रष्टीकरण, चितवनका सीडीयो र एसपी फेर्ने निर्णयको विरोध



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख हेरफेर गर्ने निर्णयको विरोध जनाएको छ । बिहीबार चितवन रास्वपाका सभापतिले एक विज्ञप्ति जारी गर्दै एसपी र सीडियो फेर्ने निर्णयको विरोध जनाएका हुन् ।

रास्वपाले कार्तिक ५ गते आह्वान गरेको चितवन आन्दोलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दै ओलीको सांकेतिक शव बनाएर नारायणीमा दाहसंस्कार गरेको थियो । उक्त घटना रोक्न नसकेको भन्दै मुधबार गृह मन्त्रालयले चितवनका सीडियो इन्द्रलाल यादव र प्रहरी प्रमुख भावेश रिमालेको सरुवाप्रति आपत्ति जनाएको छ ।

रास्वपाले असत्यको विरोध गर्दै असत्यको शव दहन गरेको र त्यसमा प्रधानमन्त्रीलाई नजोडिएको प्रष्टीकरण समेत दिएको छ । ‘देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, बेथिति र कुसंस्कार एबं सत्यमाथि असत्यको हाव बढेका कारण आमनागरिकमा चरम निराशा र विदेश पलायनलाई रोक्नका लागि साथै देशमा विधिको शासन स्थापित हुनेछ भनि सांकेतिक रुपमा असत्यको पुत्ला बनाई नारायणी नदीमा विसर्जन गरिएको कुरालाई अन्यत्र बंग्याई फरक समाचार सम्प्रेषण भएकोमा रास्वपा चितवन दुःख प्रकट गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले उक्त कार्यक्रम कुनै व्यक्ति प्रति लक्षित नभएको समेत अवगत गराउँदै देशमा व्याप्त निराशा र अन्धकार हटेर उज्यालो छाउने छ भन्ने आशामा वास्तविक सहकारी पिडितलाई न्याय दिलाउने प्रतिबद्धता गर्दै यो देशमा अन्यायमा कसैलाई पनि जबरजस्ती दोषी करार गर्ने प्रकृतिको अन्त्य हुनेछ र देशमा उज्यालो दिनको सुरुवात हुनेछ भन्ने विश्वासमा भरतपुरको चौविसकोठीमा दिप प्रज्वलन समेत गरिएको जानकारी गराएको छ ।

यसै विषयलाई लिएर अहिलेको सरकारले चितवनका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई समयाबधि अगाबै सरुवा गरेर आफ्नो गल्तिलाई ढाकछोप गर्दै अकर्मण्यता प्रस्तुत गरेकोमा रास्वपाले आपत्ति जनाएको हो । बुधबार गृह मन्त्रालयले रास्वपाका सभापति लामिछानेको निर्वाचन क्षेत्रसमेत रहेको चितवनबाट यादवलाई फिर्ता बोलाएर प्रकाश पौडेललाई सीडियो र गौतम मिश्रलाई एसपीको रुपमा पठाएको थियो ।



प्रतिक्रिया दिनुहोस्