Logo

कोशीमा कांग्रेसको भागको स्वास्थ्य मन्त्रालय कांग्रेसलाई नै फिर्ता



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भूपेन्द्र राईलाई दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका राईलाई आज मुख्यमन्त्री कार्कीले स्वास्थ्यको पनि जिम्मा दिएका हुन् । कोशीमा स्वास्थ्य मन्त्रालय नेपाली कांग्रेसको भागमा परेको छ । तर, कांग्रेसको संस्थापन र इतर समूहबीच भागबन्डा नमिल्दा मुख्यमन्त्री कार्कीले नै सो मन्त्रालय सम्हाल्दै आएका थिए ।

कांग्रेसभित्र आन्तरिक भागबण्डामा स्वास्थ्य मन्त्रालय डा. शेखर कोइराला समूहले पाएको थियो । तर भागबण्डामा असन्तुष्टि जनाउँदै कोइराला समूहले नाम नपठाएका कारण २८ भदौमा मन्त्रिपरिषद विस्तार हुँदा स्वास्थ्य मन्त्रालय खाली नै रह्यो ।

त्यतिबेला यो मन्त्रालय मुख्यमन्त्री कार्कीले आफूसँगै राखेका थिए । तर डेढ महिनासम्म कांग्रेसबाट कसैको नाम नआएपछि कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

कोशी प्रदेशमा एमालेबाट मुख्यमन्त्री कार्कीसहित रामबहादुर मगर आर्थिक मामिला, पाँचकर्ष राई सामाजिक विकास, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला र एकराज कार्की खानेपानी सिचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारीमा छन् ।

कांग्रेसबाट भुपेन्द्र राई भौतिक पूर्वाधार विकास, खगेनसिं हाङगाम उद्योग कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा छन् ।

एमालेबाट सृजना राई र कांग्रेसबाट भूमिप्रसाद राजवंशी राज्यमन्त्री छन् । राई मुख्यमन्त्री कार्यालयमा छिन् भने राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री हुन् ।



प्रतिक्रिया दिनुहोस्