Logo

रवि जोडिएको सुप्रिम सहकारी ठगीबारे अनुसन्धान गर्न सीआईबीका डीएसपी तिवारी नेतृत्वको टोली बुटवलमा



काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछाने जोडिएको अर्को सहकारीमा पछि छानबिनका लागि प्रहरीको टोली खटिएको छ । शुक्रबार सीआईबीका डीएसपी सुन्दर तिवारी नेतृत्वको टोलीले बुटवलमा पुगेर अनुसन्धान सुरु गरेको हो ।

गत असोज ५ गते सहकारीपीडित नारायणबहादुर पहराईलगायतले रवि लामिछानेसहित १२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा पूरक जाहेरी दिएका हुन्। पूरक जाहेरीपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।

बिहीबार जिल्ला अदालत रुपन्देहीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ। अदालतले छविलाल जोशी, दीपक लामा, अनन्त बाबु राई, श्री वल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। बिहीबार पक्राउ पूर्जी जारी भएका अनन्त फरार रहेका जीवी राईका दाजु हुन भने सुरक्षा रास्वपाकी सहमहामन्त्री विपीन आचार्यकी श्रीमती हुन् ।

सुर्यदर्शन सहकारी ठगीको आरोपमा गत साताबाट कास्की प्रहरीको हिरासतमा रहेका रविलाई केही दिनमा बयानका लागि बुटवल पनि लैजाने प्रहरीको तयारी छ । यसअघि सोही सहकारी ठगीमा पक्राउ परेका रविका पूर्व व्यापारिक साझेदार तथा प्रहरीका पूर्व डीआइजी छविलाल जोशीलाई बुटवल लगिएको थियो । छविलाई बुटवल पुर्याएर बयान लिईएको हुँदा रविलाई पनि बुटवल लैजाने निश्चित रहेको स्रोतको भनाइ छ ।

रवि र छविलाई सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। अरु आरोपित भने बैंकिङ कारोबारमा हस्ताक्षर गर्नेहरू हुन्। रवि र छविविरुद्ध यस्तै कसुरमा चितवनको सहारा, वीरगन्जको साना पाइला र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा पनि अनुसन्धान अगाडि बढाउने तयारी छ।

यी सहकारीबाट पनि गोर्खा मिडियामा रकम लगेर अपलचन गरेको पाइएको छ। बुटवलको सुप्रिममा १० हजार ३ सय ९१ सदस्यको १ अर्ब ७ करोड बचत रकममध्ये ७८ करोड गाेर्खा मिडियामा अपचलन गरेकाे आराेप छ।



प्रतिक्रिया दिनुहोस्