Logo

हिरासतमा रहेका रविलाई डेंगी लाग्नसक्ने भन्दै तोसिमाको चिन्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले डेंगी नियन्त्रणका लागि सरकारले ध्यान दिन नसकेको आरोप लगाएकी छन् । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेलाई छुटाउन पोखरा पुगेर काठमाडौं फर्किएकी उनले कास्कीमा अत्याधिक डेंगी संक्रमणको केस देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

कास्कीको ७ हजार ५ सय केसमध्ये ६ हजार ४ सय पोखरा महानगरमै रहेको उल्लेख गर्दै उनले प्रश्न गरेकी छिन्, ‘कारागारमा थुनिएकाहरूको चाहिँ स्वास्थ्य सुरक्षा हेर्न नपर्ने हो र ?’ गृहमन्त्रीलाई सम्बोधन गर्दै उनले लामखुट्टे भगाउने धुप र लिक्विडसमेत थुनामा बसेका कैदीहरूलाई नदिएको भन्दै आपत्ति जनाएकी छिन्।

‘एउटा लामखुट्टे भगाउने धुप या लामखुट्टे भगाउने लिक्विडसम्म दिइएको रहेनछ। यथासिघ्र देशभरीका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गु नियन्त्रणका उपायहरू अपनाउने, लामखुट्टे भगाउने धुप तथा लिक्विड प्रदान गर्ने व्यवस्था गरियोस्,’ उनले भनेकी छिन्।

पार्टी सभापति रवि लामिछाने पनि अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई सोही रात पोखरा लगेर हिरासतमा राखिएको थियो।

पहिलो पटक ६ दिन म्याद थपिएकोमा हिजोमात्र रविलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कार्तिक १४ गतेसम्म रवि हिरासतमा रहने र त्यसपछि ५ दिन अदालत बन्द हुने हुँदा तिहारपछिसम्म पनि उनी हिरासतमै बस्ने देखिन्छ । रविको हिरासत बसाईं लम्बिने निश्चित हुँदा उनलाई डेंगी संक्रमण हुनसक्ने भन्दै सांसदले चिन्ता व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्