Logo

स्थानीय तह उपनिर्वाचनमा कुन पदका  उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?



काठमाडौं । आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपचुनावका लागि निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण गरिएको जनाएको छ ।

आयोगका अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले खर्च गर्न पाउने रकमको हद तोक्ने गरी आयोगबाट निर्णय भएको हो ।

जसअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा सात लाख पचास हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा पाँच लाख पचास हजार रुपैयाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा चार लाख पचास हजार रुपैयाँ, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले जम्मा तिन लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने आयोगले जनाएको छ ।

त्यसैगरी महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा तिन लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख पचास हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण भएको छ ।



प्रतिक्रिया दिनुहोस्