Logo

अनुसन्धानको नाममा रविलाई थुनेर मानसिक दबाब दिएको रास्वपाको आरोप, तत्काल रिहा नगरे आन्दोलन चर्काउने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई षड्यन्त्र गरेर थुनेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।

पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको निष्कर्ष निकालेको हो ।

अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने निर्णय गरिएको उनले बताए।

आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ ।

राजनीतिक नागरिक संवादका लागि पार्टी उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि रास्वपाले गरेको छ। त्यस्तै सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने, आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने तयारी रास्वपाको छ।

स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई तीन दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिने निर्णय भएको कार्यवाहक प्रवक्ता झाले बताए । मंसिर १६ गते हुने स्थानीय तहका रिक्त ३९ पदको उपनिर्वाचनका लागि सहमहामन्त्री विपीनकुमार आचार्यको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाएको थियो।

पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरू, सांगठनिक र पार्टी गतिविधि नियमित गर्ने पाँचौं निर्णय भएको पनि उनले बताए।



प्रतिक्रिया दिनुहोस्