Logo

प्रचण्डलाई ओलीको जवाफ: माटोमुनि खिया लागेका हतियार अब पड्किँदैन, भ्रममा परेर झूटो प्रचार नगर्नू



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार काठमाडौंमा भएको खबरदारी सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको जवाफ फर्काएका छन् ।

शनिबार सरकारविरुद्ध खबरदारी गर्न भन्दै माओवादीले आयोजना गरेको कार्यक्रममा प्रचण्डले हतियार बिसाएका मात्रै हौँ, चलाउन बिर्सेका छैनौ भनेर दिएको अभिव्यक्तिप्रति ओलीले जवाफ फर्काएका हुन् । प्रधानमन्त्री ओलीले माटो मुनि खिया लागेका हतियारले अब काम नगर्ने भन्दै भ्रममा बाँचेर झुटो प्रचार नगर्न प्रचण्डलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सुरक्षा तथा विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका बिषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेहरुले ०८४ को चुनावसम्म कुर्न आग्रह गरे, ‘भाडामा खटाइएकाहरूले केपी ओलीको साख घट्यो भन्न सक्छन् सचेत जनतालाई थाहाँ छ कि हामी कति लोकप्रिय हौँ भन्ने । ओलीको साख घटेको भन्नेहरूले २०८४ को निर्वाचनमा हेरुन् ’ उनले भने ।

प्रधानमन्त्री ओलीले सहकारी ठगी पक्ररणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई छुटाउन रास्वपाका नेताहरुले अदालतलाई धम्क्याएको भन्दै आपत्ति जनाए । सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्री उफ्री कराउनु लोकतान्त्रिक मान्यतासंगत नभएको बताए । उनले आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरुपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्