Logo

विहंगम योगा नेपालको आयोजनामा ‘योग वर्ष २०२५’ हुने, प्रधानमन्त्री ओली प्रमुख अतिथि (भिडिओसहित)



काठमाडौं । विहंगम योगा नेपालको आयोजनामा ‘योग वर्ष २०२५’ हुने भएको छ । आइतबार विहंगम योगा नेपालले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ‘योग वर्ष २०२५’ सुरु हुने जानकारी गराएको हो ।

यहि कार्तिक २४ गते ललितपुरको गोदावरी सनराईज हलमा ‘योग वर्ष २०२५’ को औपचारिक घोषणा कार्यक्रम हुने आयोजकको भनाइ छ । त्यसमा प्रधानमन्त्री ओलीलाई निमन्त्रण दिईसकिएको आयोजकले जनाएको छ ।

विहंगम योग सन्त समाजको अन्तर्राष्ट्रिय शताब्दी समारोह महोत्सव अन्तर्गत सुपुज्य सन्तप्रवर श्री विज्ञानदेवजी महाराजको मुखारविन्दबाट स्वर्वेद कथा दिव्यवाणी सहित उक्त कार्यक्रम सम्पन्न हुने विहंगम योग नेपालका प्रतिनिधि माधव खत्रीले जानकारी दिए । नेपालमा अध्यात्मिक पर्यटन प्रवर्द्धन गर्ने यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको खत्रीको भनाइ छ ।

सन् २०२५ वर्ष दिनभरी नेपालमा योगका कार्यक्रमहरु आयोजना गरि मनाउने संस्थाले जनाएको छ । योगमा इच्छुक संसारभरी रहेका आध्यात्मिक पर्यटकलगायत विहंगम योग सन्त समाजको ५७ देशहरुमा रहेका शाखाहरु मार्फत विहंगम योग सन्त समाजको करोडौं साधकहरु र अन्य अन्तर्राष्ट्रिय आध्यात्मिक पर्यटकहरुलाई “योग वर्ष २०२५” मा नेपाल भ्रमण गर्न तथा प्रचारप्रसारमा प्रोत्साहित गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरुलाई पर्यटन व्यवसायीहरुसंग समन्वय गराउने र विहंगम योग सिकाउने तथा नेपाल भ्रमणको लागि औपचारिक निमन्त्रणा दिँदै नेपाल भ्रमण सफल बनाउने आयोजकको लक्ष्य रहेको आयोजकको भनाइ छ ।

योगसंग सम्बन्धित नेपाल भित्र र नेपाल बाहिर रहेका संघसंस्थाहरुलाई वर्ष दिन भरि नेपालमा योगका कार्यक्रमहरु संचालन गर्न आवश्यक सहयोग सहितको समन्वयकारी भूमिका निर्वाह गर्ने, पर्यटन व्यवसायी, पत्रकार, विदेश स्थित नेपालका कुटनीतिक आयोग, गैरआवसीय नेपालीलगायत सबैलाई “योग वर्ष २०२५” सफल बनाउन सहयोगको लागि नेपाल सरकारसँग अनुरोध गर्ने पनि आयोजकको तयारी रहेको छ ।

विहंगम योग सन्त समाजको अन्तर्राष्ट्रिय शताब्दी समारोह महोत्सव अन्तर्गत डिसेम्बर ६ र ७ मा स्वामी सद्गुरु स्वतन्त्र देवजी महाराजको प्रिय शिष्य मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीको प्रमुख आतिथ्यतामा लाखौँको उपस्थितिमा भारतको वाराणसी,उमरहाँस्थित स्वर्वेद महामन्दिर धाममा २५००० कुण्डको वैदिक हवन कार्यक्रम हुने पनि आयोजकले जनाएको छ । उक्त कार्यक्रममा कम्तीमा पनि १० लाख मानिस सहभागी हुने आयोजकको भनाइ छ ।

उक्त कार्यक्रममा नेपालका प्रधानमन्त्री वा अन्य प्रतिनिधी मार्फत “योग वर्ष २०२५” मा नेपालको तर्फबाट उपस्थित हुन पनि नेपाल सरकारसँग आयोजकले अनुरोध गर्ने निर्णय भएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको लागि आवश्यक सम्पूर्णलगायत संसारभरि रहेका आध्यात्मिक पर्यटकहरुलाई निमन्त्रणा गर्ने र विशेष सम्बोधनको लागि मञ्च र समय आयोजकले व्यवस्था गर्ने विहंगम योगा समाजले जनाएको छ ।

विहंगम नेपालले आगामी वर्ष नेपालमा ५ लाख योगाका पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको खत्रीको भनाइ छ । सरकारले सहयोग गरेमा र संस्थासँग समन्वय गरेमा योगाको माध्यमबाट नेपालको आर्थिक र पर्यटकीय विकासमा टेवा पुग्ने आयोजकको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्