काठमाडौं, १३ कार्तिक । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुला्ई कारबाही गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई सुझाव दिएका छन् । संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा पक्राउ परेका रवि लामिछानेको विषयलाई लिएर रास्वपाका सांसदहरु आन्दोलनमा उत्रिएको भन्दै उनले कारबाहीको माग गरेका हुन् । संसद्को निर्देशनको विरुद्ध सांसदहरु नै आन्दोलनमा उत्रिनुले रवि लामिछाने दोषी हुन् भन्ने पुष्टि गरेको उनको टिप्पणी छ । रास्वपा सभापति लामिछानेको पक्राउलाई लिएर रास्वपा सडकमा आउनुको कुनै औचित्य नरहेको उनले बताए ।
‘रास्वपाको आन्दोलन यो बेकम्माको हो । यिनका पार्टीका पनि व्यक्ति बसेर समिति बनाएर छानविन गरी मुद्दा चलाउनुपर्छ भनेर सरकारलाई आदेश दिएको छ । संसद्ले दिएको आदेशविरुद्ध संसद्मा नै भएका व्यक्तिहरु आन्दोलनमा उत्रिन्छन् भने उनीहरुमाथि कारबाही हुनुपर्छ कि पर्दैन ? सभामुखले तत्काल स्पष्टीकरण माग्नुपर्छ कि पर्दैन ? स्पष्टीकरण लिनुपर्छ, चित्त बुझेन भने सस्पेन्ड गर्नुपर्छ,’– उनले भने ।
साथै, नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा र वर्तमान गृहमन्त्री रमेश लेखकले रवि लामिछानेले सहकारी ठगेको प्रमाण दिन नसकेको भन्दै उनले आपत्ति जनाए । उनीहरुले उल्लु कुरा गरेर जनतालाई भ्रममा पारेको डा. दीक्षितको टिप्पणी छ । वर्तमान सरकारले कांग्रेस उपसभापति धनराज गुरुङ र नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेललाई सहकारी ठगी प्रकरणमा छानविनको दायरामा नल्याएको भन्दै उनले आपत्ति जनाए ।
‘संसद्मा हामीसँग रवि लामिछानेको प्रमाण छ भनेर गगन, विश्वप्रकाश र लेखकले चिच्याएका होईनन् ? हाम्रो पैसा खाएर बसेर एक महिनासम्म संसद अवरोध गरेका होईनन् ? त्यो प्रमाण किन दिन सकेनन् तिनीहरुले अहिलेसम्म ? त्यो प्रमाण दिएको त कहीँ पनि देखिएन । उनीहरुले भने– हामीसँग प्रमाण छ । खोई त प्रमाण ? बोलेको कुरा रहेन छ नि त । गगन थापाले खोई प्रमाण देखाएको ? उल्लु कुरा गरेर जनतालाई छक्याउन भएन क्या,’– डा. दीक्षितले भने ।