Logo

बालुवाटार घेर्न पुगेका रास्वपा सांसद चौधरीसहितका कार्यकर्ताहरू प्रहरीको नियन्त्रणमा



काठमाडौं । १२ बजे तय भएको प्रदर्शनअघि नै बालुवाटार पुगेका रास्वपाका १५ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै ती नेता कार्यकर्तालाई पक्राउ गरेको हो । मंगलबार बालुवाटारको नेपाल हाउस रेष्टुरेन्ट अगाडिबाट सांसद अशोककुमार चौधरीसहित कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा सांसद चौधरीसहित काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरि, ध्रुव ढकाल र सवि खड्कालगायत पक्राउ परेकोरास्वपाले जनाएको छ ।

सभापति रवि लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।

आन्दोलनको नेतृत्वको उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्यालले गरेका छन् । यसअघि रास्वपाले तिहार भित्रिएसँगै आजबाट देशव्यापी रुपमा आन्दोलनबाट ब्याक हुने जनाएको थियो ।

रास्वपाले पोखराबाट आन्दोलनलाई काठमाडौं केन्द्रीत गरिरहेको छ। सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेविरूद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा पनि चलाइने भएको छ।

लामिछानेविरूद्ध रूपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ। उनलाई बुटवल, पर्सा, वीरगन्ज र चितवनपछि काठमाडौं ल्याउने तयारी भएको छ।



प्रतिक्रिया दिनुहोस्