काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको कीर्तिपुर नगरपालिकामा ई.ध्रुव महर्जनलाई उठाउने भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि राप्रपाले उम्मेदवारी घोषणा गरेको हो ।
कीर्तिपुरमा राप्रपाका तर्फबाट नगरप्रमुखका लागि ई. ध्रुव महर्जन, वडा नम्बर १ वडा अध्यक्षका लागि सुरेन्द्र उप्रेती, वडा नम्बर ४ वडा अध्यक्षका लागि विशेष बस्नेतलाई उम्मेदवार घोषणा गरेको अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जानकारी दिए ।
कीर्तिपुरमा राप्रपाले कार्यक्रम गरि उम्मेदवारी घोषणा गरेको उनले जानकारी दिए । उनका अनुसार आज आयोजित कार्यक्रममा युवाहरूको ठूलो संख्याले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । आजै चुनावी प्रचार कार्यालय पनि उद्घाटन भएको लिङ्देनले जानकारी दिए ।
मिर्गौला रोगबाट पीडित मेयर राजकुमार नकर्मीको २०८१ साउन ११ गते निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन हुन लागेको हो। त्यस्तै क्यान्सरपीडित वडा नं १ वडाध्यक्ष हिरालाल महर्जनको २०८० फागुनमा निधन भएको थियो। मोटरसाइकल दुर्घटनामा परी वडा नं ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको २०८० वैशाखमा निधन भएको थियो।