Logo

राष्ट्रपतिका सल्लाहकार कुँवरमाथि खनिए स्वर्णिम, रविलाई जस्तै आरोप लाग्दा पनि फुक्काफाल हिँडिरहेको दाबी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा राखिरहनुको कुनै औचित्य नभएको जिकिर गरेका छन् । सहकारी ठगीको आरोपमा पक्राउ परेका रविको बचाउमा मङ्गलबार बालुवाटारमा जारी प्रदर्शनको कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो जिकिर गरेका हुन् ।

उनले रविलाई लागेजस्तै आरोप लागेकाहरू फुक्काफाल बाहिरै हिँडिरहेको उल्लेख गरे । “जीबी राईका सल्लाहकार त अहिले राष्ट्रपतिका सल्लाहकार हुनुहुन्छ । रवि लामिछानेलाई जस्तै आरोप लागेकाहरू हिँडिरहेका छन् तर, उहाँलाई चाहिँ किन थुनामै राख्नुपर्ने,” उनले भने ।

उनले सरकारलाई प्रतिशोधको राजनीति नगर्न चेतावनीसमेत दिए । “अहिले आफू सरकारमा हुँदा अरुलाई लखेट्ने, १२ वर्षपछि खोला फर्किन्छ भनिन्छ । सबैतिर सोच्नुपर्छ,” उनले भने ।

सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईका तत्कालीन सल्लाहकार बाबुराम कुँवर अहिले राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार छन् । उनीमाथि पनि रास्वपाले छानबिन गर्न माग गर्दै आएको छ । यद्यपि कुँवरले आफू पहिल्यै जीवीको कानस्नी सल्लाहकारबाट बाहिरिसकेको बताएका छन् ।

स्वर्णिमले रविलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोध भएको उल्लेख गरे । साथै उनले अवसर पाए सहकारी बचतकर्ताको बचत फिर्ता गरिने पनि उल्लेख गरे । उनले रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिने बताएका छन् । समितिमा आनन्द मोहन भट्टराई‚ ईश्वर खतिवडा जस्ता न्यायाधीशहरूलाई सहभागी गराउने उनले दाबी गरेका छन् ।

लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ । आन्दोलनको नेतृत्वको उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्यालले गरेका छन् । यसअघि रास्वपाले तिहार भित्रिएसँगै आजबाट देशव्यापी रुपमा आन्दोलनबाट ब्याक हुने जनाएको थियो ।

रास्वपाले पोखराबाट आन्दोलनलाई काठमाडौं केन्द्रीत गरिरहेको छ। सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेविरूद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा पनि चलाइने भएको छ।

लामिछानेविरूद्ध रूपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ। उनलाई बुटवल, पर्सा, वीरगन्ज र चितवनपछि काठमाडौं ल्याउने तयारी भएको छ।



प्रतिक्रिया दिनुहोस्