काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग पूनर्गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेकपा एमालेका नेता तथा पूर्वमन्त्री हरिप्रसाद रिजालको नेतृत्वमा ८ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
आयोगको उपाध्यक्षमा जाजरकोटका सनतकुमार कार्की, विज्ञ सदस्यमा एमालेबाट सिन्धुपाल्चोकका जगत बस्नेत, कांग्रेसबाट कैलालीका टेकबहादुर शाह, सदस्यमा दार्चुला गोवर्द्धन कोली, महोत्तरीका गुरजबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाई, तनहुँका आरती भण्डारी रहेका छन् ।
भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ अनुसार आयोगका अध्यक्ष, उपाध्यक्ष एवम सदस्यको पदावधि ३ वर्ष रहनेछ । यद्यपी आयोगको अध्यक्ष, उपाध्यक्ष वा सदस्यलाई विभिन्न कारण देखाएर जुनसुकै बेला पनि सरकारले पदबाट हटाउन सकिने व्यवस्था गठन आदेशमा राखिएको छ ।
यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा एमाले नेता देवी ज्ञवालीलाई हटाएर कांग्रेस नेता केशव निरौला आयोगको अध्यक्ष बनेका थिए । गत फागुनमा तत्कालीन प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहभागी भएपछि निरौला नेतृत्वको आयोग विघटन भएको थियो । तर, निरौला नेतृत्वको आयोगमा नेपाली कांग्रेसको कोटाबाट सदस्य रहेकाद्धय गोवर्द्धन कोली र टेक बहादुर शाह अदालत गएका थिए । सर्वोच्चले शाह र कोलीको पक्षमा अन्तरिम आदेश दिएपछि निरौला नेतृत्वको आयोग खारेज हुनबाट जोगिएको थियो ।
गत असारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समिकरण बनेपछि राजनीतिक सहमतिको आधारमा मुद्दा फिर्ता लिएपछि नयाँ आयोग गठनको बाटो खुलेको हो ।
को हुन अध्यक्ष चुनिएका रिजाल ?
एमालेको केन्द्रीय सदस्य रहेका रिजालले एमाले लुम्बिनी प्रदेश अध्यक्षमा उम्मेदार बनेर पराजित भएपछि केन्द्रीय सदस्य गुमाएका थिए । प्रदेश अध्यक्ष हुनुअघि नै एमाले पोलिटब्यूरो सदस्य रहेका उनी चुनावमा पराजित भएपछि हाल केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन् ।
गत वर्ष भएको लुम्बिनी प्रदेश अध्यक्षको चुनावमा उपाध्यक्ष विष्णु पौडेल निकट राधाकृष्ण कँडेलसँग २ मतले रिजाल पराजित भएका थिए । पराजित रिजाल एमाले महासचिव शंकर पोखरेल निकट नेता हुन् । त्यसअघि उनी ०७९ को प्रदेश सभा निर्वाचनमा प्यूठानबाट सांसदमा पनि पराजित भएका थिए । लुम्बिनी प्रदेश सरकारका मन्त्री रहेका कांग्रेसका रोज राणा (सरोज थापा) सँग पराजित भएका थिए ।
एकै वर्ष प्रदेश अध्यक्ष र सांसदमा पराजित रिजाललाई सत्ता परिवर्तन हुँदा अध्यक्षको चिठ्ठा परेको छ । त्यसमाथि पनि एमाले महासचिव पोखरेल दाहिना भएपछि उनलाई अध्यक्ष पद हात लागेको चर्चा छ ।