Logo

तिहारको मुख्य तीन दिन यस्तो रहनेछ देशभरको मौसम



काठमाडौं । यस वर्षको तिहारको मुख्य तीन दिनको देशभरको मौसमको अवस्था सार्वजनिक भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले तिहार विशेष मौसम बुलेटिन जारी गरेको छ।

बुधबार जारी गरिएको विशेष बुलेटिनअनुसार कात्तिक १५ देखि १८ गतेसम्म अर्थात् भाइटीकाका दिनसम्म कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना छ। देशका बाँकी स्थानमा भने मौसम मुख्यतया सफा रहने सम्भावना छ।

बुलेटिनमा भनएको छ ‘तिहार विशेष मौसम बुलेटिन यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनहरूमा देशको कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने देखिन्छ’।

यस्तै सो ३ दिन देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ। बुलेटिनमा भनिएको छ ‘देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। उक्त दिनमा अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना देखिन्छ’।

यस वर्ष नेपालबाट मनसुन बाहिरिए पनि काठमाडौं उपत्यका लगायतका स्थानमा गत बडादशैंमा पनि वर्षा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्