Logo

कूलमानलाई बोलाएर मन्त्री खड्काले भनेः ‘सरकारले तपाईँलाई हटाउने सोच बनाएको छैन’ (भिडिओसहित)



काठमाडौं, १५ कार्तिक । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कूलमान घिसिङलाई हटाउने सरकारको कुनै सोच नरहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र सरकारका बारेमा अहिले सहतमा रहेका हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् । उनले आफूले कार्यकारी निर्देशक घिसिङलाई बोलाएर ‘सरकारले तपाईँलाई हटाउने सोच बनाएको छैन’ भनी जानकारी पनि गराएको उनको भनाइ छ ।

‘मनमुटाव भनेजस्तो हल्ला मैले पनि सुन्छु । तर, भित्र मैले त्यो अनुभूति गरेको छैन । सुरुदेखि नै यो (कूलमानलाई हटाउने) कुरा असत्य हो । हिजो दिनभरी नै सञ्चार माध्यमहरुमा छाएको देखेँ, कुलमानजी आज हट्दै हुनुहुन्छ, आदि इत्यादि । यो सब कुरा केही छैन भित्र । सरकारको सोच पनि त्यहाँ छैन । उहाँलाई बोलाएर मैले भनेँ– सरकारले तपाईँलाई हटाउने सोच बनाएको छैन । हटाउन पर्यो भने, प्रधानमन्त्रीलाई अनुकूल भएन, पार्टीलाई अनुकूल भएन भने त जतिखेर पनि हटाउन सकिन्छ । हटाउन पर्यो भने यत्रो हल्ला गरिरहुनुपर्ने जरुरत छैन,’– मन्त्री खड्काले भने ।

साथै, प्राधिकरणले अहिले विभिन्न उद्योगहरुको लाईन काटेको स्मरण गराउँदै उनले डेडिकेटेट टंक लाइन विवादका सन्दर्भमा रहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्