काठमाडौं, १५ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सहकारी संस्थाको बचत रकम दुरुपयोग गर्ने पीडक पक्षको सडक प्रदर्शन अपराधिक र दण्डनीय भएको बताएका छन् । उनले जनताको अरबौं रकम लुट्ने ठगहरुको पक्षपोषण हुने गरी भीड, उत्तेजना र अराजकता प्रदर्शन भइरहेको टिपप्णी गरे ।
‘यो मुलुकमा छताछुल्ल रुपमा सतहमा आइसकेका भ्रष्टाचार, ठगीलगायतका अनेकौं काण्डहरु लुकाउने गरिएको छ, सामसुम पारिएको छ । रास्वपा अन्य काण्डजस्तै आफ्नो सभापति जोडिएको सहकारीको मुद्दालाई राफसाफ पार्न चाहन्छ,’– नेता बस्नेतले भने ।
सडकमा भइरहेका अवाञ्छित गतिविधि अन्ततोगत्वा रास्वपालाई नै प्रत्युपादक हुने उनको तर्क छ । राज्य संयन्त्रकै लापरबाही र सरकारको उदासीनताले सहकारी संकट आज यो अवस्थामा पुगेको उनले बताए । नेता बस्नेतले सहकारी रकम दुरुपयोगको विषयमा निष्पक्षरुपमा छानबिन गरी दोषीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिन सरकारले कुनै कसर बाँकी राख्न नहुने बताए ।