Logo

तिहारलक्षित सुरक्षाका लागि काठमाडौंमा ४ हजार प्रहरी परिचालित, अरुलाई असर नपर्ने गरी देउसीभैलो खेल्न एसएसपी रजौरेको आग्रह (भिडिओसहित)



काठमाडौं, १६ कार्तिक । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले यस वर्ष तिहारमा देउसीभैलो खेल्न समयको कुनै रोकतोक नरहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले समाजमा रहेका विभिन्न अवस्थाका व्यक्तिहरुलाई असर नपर्ने गरी यस वर्ष देउसी भैलो खेल्न सकिने बताएका हुन् ।

‘चाड पर्वको सुरक्षा योजना दशैंअघि देखि नै निरन्तर हुन्छ, यो छटसम्म नै छ । देउसीभैलोको सन्दर्भमा समयभन्दा पनि अरुलाई डिस्टर्ब नहुनेगरी खेल्न सकिन्छ, अरुलाई डिस्टर्ब हुन भएन । समयको रोकतोक छैन । तर, रातिको समयमा अरुको निद्रामा असर पर्नेगरी, छिमेकी, विरामीहरुलाई असर पर्ने अवस्था आएमा रोकिदिनु पनि पर्ने अवस्था हुन्छ । विभिन्न किसिमका व्यक्ति समाजमा हुनुहुन्छ । उहाँहरुको अवस्थालाई मध्यनजर राखेर हामीले देउसी भैलो खोल्न अनुरोध गरेका छौं,’– एसएसपी रजौरेले भने ।

साथै, काठमाडौंको सन्दर्भमा तिहारको अवसरमा कुनै अप्रिय घटना, सुरक्षा संवेदनशीलतालगायतका विषयमा कुनै समस्या नरहेको उनले बताए । सबै नागरिकले ढुक्कका साथ तिहार मनाउन सक्ने गरी सुरक्षा व्यवस्थाको प्रबन्ध गरिएको उनको भनाइ छ । उनले तिहार मनाउने क्रममा पटकाजन्य विस्पोटक पदार्थहरु पड्काउनेलगायतका कार्य नगर्न समेत नागरिकहरुलाई अनुरोध गरे ।

एसएसपी रजौरेले विपद्को समयमा ५ देखि १० मिनेटमा नागरिकसामू प्रहरी पुग्नेगरी सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । तिहारका लागि काठमाडौंमा करिब ४ हजार सुरक्षाकर्मी परिचालित रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्