Logo

आरजुलक्षित सिस्नुपानी देउसीः सबै पार्टीभन्दा माथि भाउजू बाठी छन् !



काठमाडौं । सिस्नुपानी नेपालले हरेक वर्षजस्तै यस वर्षको तिहारमा पनि देउसी भैलोको आयोजना गरेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका शीर्ष नेताहरु लगायतलाई बोलाएर सिस्नुपानीले देउसी भैलोको आयोजना गरेको हो ।

प्रज्ञा भवनमा आयोजित देउसी भैलोमा प्रधानमन्त्री ओली र काठमाडौंका मेयर बालेन शाहसँगको टसललाई जोडिएको थियो । जसलाई दर्शकले चाख मानेर सुनेका थिए ।

सिस्नुपानीको देउसीमा सत्ता साझेदार दल नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लक्षितगर्दै सबैभन्दा बाठी नेतृको रुपमा व्यगं गरिएको थियो । त्यस्तै नेता धनराज गुरुङले सहकारीको ऋण पचाउन नक्कली डिभोर्स गरेको भन्दै व्यंग्य गरिएको थियो ।

ललितपुरको मितेरी सहकारी ठगीको आरोप धनराज पत्नी ज्योतिमाथि लागेको छ । सहकारी ठगीको आरोप लागेपछि धनराजले नक्कली डिभोर्स गरेको चर्चा चल्ने गरेको छ । जसलाई सिस्नुपानीले व्यंग्य गर्दै भनेको छ ‘साधु नेता धनराजले, कस्तो कला जानेका, ऋणको रकम पचाउन डिभोर्स हानेका’ ।

सिस्नुपानी नेपालका उपाध्यक्षसमेत रहेका वरिष्ठ हास्य कलाकार मनोज गजुरेलका अनुसार प्रज्ञा सिस्नुपानी देउसी २०८१ को पूर्णपाठ यस्तो छ ।

विपीले भन्थे – समाज् वाद
देउवाजी भन्छन् – समात् बाँध
मदनको बहुदलीय – जनवाद
ओलीको एकल – मनवाद ।

माओले भन्थे – साम्मेवाद
प्रचण्ड भन्छन् – हाम्मेवाद
सटरका माधव – घुम्तीमा
पार्टी त छ नि – कम्तिमा

राप्रपा भन्छ – राजा ल्याउँ
भ्यागुता गर्छन् –टर्र ट्याउँ ।
रास्वपा भन्छ – नयाँ छु
फेर्ने हो सरकार ? – म याँ छु ।


३५ वर्ष ३६ सरकार, मन्त्री बने हजारौँ
विकास भएन भन्नेलाई भुइँमा बजारौँ ।

थुम्कैपिच्छे भ्यूटावर छन्, टोलैपिच्छे शहीदगेट
भ्रष्टाचार् भो भन्ने मुखमा, टाँसिदिनूटेप ।

संविधानको संशोधन्, साँच्चै हो कि नारा हो ?
छिमेकीको चारा हो कि,आफ्नै पारा हो ?

गठबन्धनका गाँठाले, हाम्रा टाउका फुटाउँछन्
दिल्ली बेजिङ आफ्ना आफ्नै धार्नी जुटाउँछन् ।

बफर जोेन बनाउन, अमेरिका आइरहने
इयु पनि बेलाबेलै मुख बाइरहने ।

कालेकाले मिली बन्द, गरे अरे फायल
फायल् खोलाखोललेफायल् आफैँ घायल ।

खान पिउन राउन्ड् टेबल, मातेपछि राउन्ड् किक्
एक्लै खाए भ्रष्टाचार बाँडी खाए ठीक् ।

८४ मा सबै साँढे, सिङ्गल सिङ्गल भिड्ने रे
८४ को पूजा पछि गाई छाड्ने रे ।
खुत्खुत् हाँस्थे प्रचण्ड, ठूला दल्लाई झेलाउँदै
जादुमयी संख्या भन्दै चाबी खेलाउँदै ।

स्वर्ग नर्क जता गएनि, सँगै जाउँला भनेर
ओली दाहाल सुते एउटै सिरक तानेर ।

लुस्स निस्की ओली गए, देउवाजीको खाटमा
के भो होला नसम्झौँ भो मध्य रातमा ।

हिजोसम्म चाटाचाट, आज भयो काटाकाट
लाजले गर्‍यो आत्महत्या जब फेरियो खाट ।

हाम्रा नेता भैँसी पुज्छन्, मुर्रा भैंसी लेराउँछन्
कोही भैंसी दुन जान्छन् उतै हराउँछन् ।

हामी पनि वर्षौदेखि, भैंसी पुराण लाइराछौँ
बिगौतीको सट्टा जहिल्यै गोबर पाइराछौँ ।


गीत

भैंसी लड्यो है माया पानीजाज उडेर
मेची काली है माया चुच्चे रेल गुडेर ।

दुई पल्टका राष्ट्रपति… पार्टीतिरै फिर्ने रे नि लै लै
अध्यक्ष नै खाने रे, बरु जिल्ला जाने रे
कि त वडाध्यक्षै हुने रे ।

महिला प्रधानमन्त्री भन्दै ओली चारो छर्दैछन् नि लै लै
आरजु गुनगुन गर्दैछन्, मोदी कान भर्दैछन्
विश्व गगन सुँकसुँक गर्दैछन् ।


कांग्रेस पार्टी भित्र पार्टी, पार्टी भित्र पार्टी छन्
सबै पार्टीभन्दा माथि भाउजू बाठी छन् ।
नेता फेर्छु भन्दै कांग्रेस, धेरै वर्ष कुर्लियो
युवा हुँ म भन्नेको नै दाँत फुक्लियो ।

विपि किसुन गणेशमानले, इतिहास रचेका
बिँडो थाम्न आलम जोशी खाँड बचेका ।
देउवाजीका स्लिपिङ् पार्टनर, प्रचण्ड र ओली
प्रधानमन्त्री दिउँला भन्छन् उधारोमा भोलि ।

तानातानमा देउवाजीलाई, ज्वरो आउँछ हनहनी
दुईथान कम्निस्ट नेताले घुमाए फनफनी ।

साधु नेता धनराजले, कस्तो कला जानेका
ऋणको रकम पचाउन डिभोर्स हानेका ।

माओवादी अध्यक्षले, विश्राम लिनै पाएनन्
किनभने प्रचण्डले दिनै चाहेनन् ।

बालुवाटारमा बसुन्जेल, दलालीको घेरामा
वाममोर्चाको जोक् सुनाउँछन् फर्की डेरामा ।

कांग्रेस एमालेको टेको, लाउँदै अघि बढेका
दुइटै टेको उछिट्टिँदा भुइँमा लडेका ।

लडे पनि लडेँ भन्न, लजाउँछन् प्रचण्ड
आन्दोलनको प्राचिन् गाना गाउँछन् अखण्ड ।

सत्ता छँदा सिंगापुर, सत्ता छाड्दा बंगलादेश
छलाङमाथि छलाङ हान्दै फुल्यो यिनको केस ।

राजा फाल्ने उर्जा थियो, थियो तिम्रो कत्रो जोश
अब बन्ने वाम मोर्चामा राप्रपा नि होस् ।


जान्ने भन्दै छानिएकी, हाम्री उपसभामुख नि लै लै
दूताबासलाई लेखिछन्, झण्डै मान्छे बेचिछन्,
तिर्मिर तिर्मिर तारा देखिछन् ।

हप्तैपिच्छे हुँदा रैछन्, एनआरएनका अधिवेशन नि लै लै
गुटैगुटमा भर्ती, देशलाई दिन्छन् अर्ती
ऐना हेर्ने हो कि फर्की ।


मकै पोल्ने, फलफूल बेच्ने, सब्जी ल्याउने घरघरमा
भुइँमान्छेलाई भुईँ नै छैन महानगरमा ।

पसिनाको गन्ध आउने, धोती कछाड दौराले
नगरभित्र नछिर्नु खाउला लौराले ।

हुकुम्बासी नदी पस्दा नदी शहर पसेको
सुकुम्बासी राजनीतिमा पोल्टिक्स घुसेको ।

बुढा नेता थर्कमान, हर्क – बालेन देखेर ।
त्यो क्रेजलाई नसिध्याऊ है फेसबुक लेखेर ।


(दुइटा फूल देउरालीमा…)

वामदेव भन्ने थिए कतै बाबुराम नि थिए कतै ।
वैद्य, रावल, आरके, सीपी, बादल छाउँथे जताततै ।

सम्झे सम्झे जस्तो लाग्छ, बिर्से बिर्से जस्तो लाग्छ
जय मधेशको नारा लाउने पार्टी थिए जस्तो लाग्छ ।


१२ भाइलाई १३ औँ भाइले, उफ्री उफ्री थर्कायो ।
सरकारले थर्काउनेकै ढाड मर्कायो ।

नपाउनेले केरा पायो, बोव्रैmसँग अड्कायो
नो नट अगेन भनी भनी मन्त्री पड्कायो ।

उसले खायो त्यसले खायो, हाम्ले खान नहुने ?
नयाँकाचाहिँ मुख छैन र खानै नहुने ?

भोको भन्छ वारी खाऊँ, खाको भन्छ पारी जाऊँ
खानै पाको थिएन, सत्ते मरिजाऊँ ।

मत्स्य न्याय राजनीतिमा सबले तर मारेका
ठुलाले चैँ साना माछा क्वाप्पै पारेका ।


गीत

म त खाँदिन टिभीको जागिर
मलाई लैजाउन गृहको कुर्सीमा

हेन्सम केटो हेन्सम नारा राजनीतिमा आउँदा
पाइलैपिच्छे कान्डैकान्ड अहिले थाहा पाउँदा

भो भो भाँच्दिन नाकको डाँडी हो
बचत खाँदिन जिबीले नबाँडी ।


माओवादीका युवराज, क्रान्ति भेप बाल्दैछन्
सहिदका स्वप्नलाई सुनले टाल्दैछन् ।

नेपालको सेयर बजार गिरोहले चलाउने
अर्थमन्त्री लौको जत्रो नाक फुलाउने ।

छाडा साँढे पसेर, सहकारी निलेका
अनुगमन गर्ने पनि त्यतै मिलेका ।

अड्डाभित्र करोडौँका, गाडी सडाइ सिध्याउँछन्
वर्षैपिच्छे गाडी किन्न दाह्रा उध्याउँछन् ।

झाडीबाट फुत्त आयो, चोर हो कि भनेको
लाइसेन्स माग्यो भन्यो गाडी किन कुदाको ?

धराप थापी भिडमा, छिर्के लाउँछन् गाडीलाई
जरिवाना तिराई दसैँ मान्छन् ट्राफिक दाइ ।

गाडी डुब्छन् पिलेन खस्छन्, अनिश्चित भो गन्तव्य
राहत हैन सरकार बाँड्छ शोक मन्तव्य ।

प्रदेश सरकार के गर्दैछन्, कहाँ पुगे कुदेर ?
कोशीले चैँ शिखर चुम्यो कार्की जुधेर ।


प्रदेशमन्त्री मनाङ्गेले विश्व रेकर्ड राखेछन् नि लै लै
मन्त्री खान अल्छीले राजिनामा दिएछन्
मन्त्रालय नै बेच्न राखेछन् ।

हाम्रो देशका इन्जिनिएर, संसारलाई पढाउँछन् नि लै लै
सुपरग्लुले टाँसेर, हवाइजहाज उडाउँछन्
हँसाएरै आन्द्रा चुडाउँछन् ।


अनुसन्धान विभाग – ह ह ह
अख्तियार हाम्रो – हा हा हा
सुरक्षित आवास – हि हि हि
विपत् प्राधिकरण – ही ही ही ।

लाइसेन्स छपाइ – हु हु हु
धितो बोर्ड अध्यक्ष – हू हू हू
समाजवादी मोर्चा – हे हे हे
स्टीकर ठेक्का – है है है ।

भ्रष्टाचार गर्दिन – हो हो हो
गर्न नि दिन्न – हौ हौ हौ
समृद्ध नेपाल – हं हं हं
सुखी नेपाली – हः हः हः ।।


चल्ने भयो दमक टावर, भो भो पिर नगर
परेवा पालौँ नाम राखौँ पिजन टावर ।

चाँडो ल्याउँ समृद्धि,ख्याट्ट पारौँ ब…टन्
धरराको गरौँ दोस्रोतेस्रो उद्घाटन् ।

भेलबाडीमा डुब्दै बग्दै, जनता गुहार माग्दैथे
प्रधान्मन्त्री अम्रिकामा माइक तान्दैथे ।


कविता

दशैं याम एक दिन ठुलो पानी पर्‍यो
खोलानाला शहर पसी गर्नुसम्म गर्‍यो ।

स्यानु स्यानु छाप्रो थियो मनोहरा पारी
एमालेका भाले बस्थे गुँड सारी सारी

क्वार्र कुर्र समृद्धिका उखान् सुनाउँथे
गफ्का पोका फ्याँकी फ्याँकी दिन बिताउँथे ।

चुट्नसम्म चुट्यो आज पार्‍यो उठिबास
झोलितुम्बी बोकी हिँडे खोज्नलाई बास ।

हेर तिनको दुःख देख्दा मीनको मन छोयो
दस रोपनी दान पाउँदा झोलितुम्बी रोयो ।

एमालेको गुँड अब भाटभटेनी सर्ला
मनमोहनको ठाउँमा मीनको फोटो पुज्नु पर्ला ।

धन्नेवाद ।


आशिष

छोरालाई जोत्न – लाजै होस्
बाबुको खेत चैं – बाँझै होस्
रोजगारी खोजिरउन् – छोराले
खेताला खोजिरउन् – बाबुले ।

गाउँघर हाम्रा – कोमामा
वृद्धाश्रम बस्छन् – बाआमा
टिकटकको खेती – मौलाओस्
नेपाली समाज – बौलाओस् ।

सहकारीको झैं – ढुकुटी होस्
बचतकर्ता चैं – सुकुटी होस्
दाम्पत्य जीवन – यस्तो होस्
सहकारी डिभोर्स – जस्तो होस् ।

लोन खाई तिर्नु – नपरोस्
बैंकले ल्याङल्याङ – नगरोस्
यति र ओम्नी – दौँतरी हुन
गरिबको कोटामा – चौधरी हुन् ।

बालमन्दिर काण्ड – छोपछाप होस्
नबोलोस् सरकार – चुपचाप होस्
बाँसबारी जग्गा – हराओस्
चिहानबाट जुत्ता – कराओस् ।

रेमिटले मुलुक – धानियोस्
युवा चाहिँ परदेश – हानियोस्
युनिभरसिटी – खोल्दै जाउँ
विद्यार्थी विदेश – ठेल्दै जाउँ ।

गाउँमा मान्छे – नमरोस्
मलामी खोज्नु – नपरोस्
सन्तानले दुःख – नपाओस्
लास आफैं हिँडी – घाट जाओस् ।

दूध बेची किनौँ – कोक फेन्टा
गाई भैँसी पाल्ने – के टन्टा
यस्तै छ दियो – आशाको
जनै र चन्दन् – खासाको ।

भोट खाने नेता – घुसतिर
भोट दिने युवा – रुसतिर
भासिए युुवा – नभनौँ
काठका बाकस – नगनौँ ।


बिसौनी

देश हाम्रो नेपालै होस्, (नहोस् लङ्का बङ्लादेश) –२
खै केले छेक्छ सुरु गर्न, (समृद्धिको रेस ?) –२

राजनीति बिग्रिए चुनावले सच्याउला
समाज पथभ्रष्ट भए कल्ले बचाउला π

कत्ति सोध्नु एउटै प्रश्न (कत्ति खेल्नु भैलो) –२
बन्द गरौँ बिन्ति छ (देशमा भाँडभैलो ।।) –२



प्रतिक्रिया दिनुहोस्