Logo

स्वाथ्यमन्त्री पौडेल एक्सनमाः पाठेघर क्यान्सरको उपचार पनि निशुल्क गर्ने तयारी (भिडिओसहित)



काठमाडौं, १८ कार्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सर रोगको उपचार निशुल्क गर्ने तयारी भइरहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले १४ वर्षमुनिका बालबालिकामा देखिएको क्यान्सर रोगको निशुल्क उपचार गर्ने घोषणा पछि राज्यले पाठेघरको क्यान्सर रोगको उपचार निशुल्क बनाउन काम गरिरहेको बताएका हुन् ।

मन्त्री पौडेलले संवैधानिक व्यवस्था बमोजिम आफूलाई सबै रोगको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउन मन रहेको बताए । तर, सबै रोगको निशुल्क उपचार गर्ने कुरा राज्यले अहिले धान्न नसक्ने उनको भनाइ छ । उनले क्रमशः स्वास्थ्य क्षेत्रमा सुधारका कामहरु भइरहेको दाबी गरे ।

‘मलाई त सबै स्वास्थ्य सेवा निशुल्क गर्ने इच्छा छ । त्यो आवश्यक पनि छ । तर, त्यो आर्थिक पक्षबाट गर्न सकिने स्थिति छैन । अब हामी क्रमश के गर्दैछौं भने पाठेघरको क्यान्सर रोगको उपचार गर्ने विषयमा पनि हामीले निशुल्क गर्ने कोशिस गरिरहेका छौं । हामीले यसमा गैरसरकारी संस्थाहरुसँग पनि कुरा गरिरहेको स्थिति छ । पाठेघरको क्यान्सर रोगको उपचारलाई निशुल्क बनाउने हाम्रो प्रयास भइरहेको छ,’ मन्त्री पौडेलले भने, ‘….सबै रोगमा निशुल्क गर्न आवश्यक छ । राज्यको संवैधानिक दायित्व बमोजिम स्वास्थ्यको दायित्व लिन जरुरी छ । तर, यो विषयमा राज्य सम्पूर्ण रुपमा खर्च गरेर, लगानी गरेर त्यो हुनसक्ने कुनै पनि सम्भावना छैन ।’

त्यस्तै, नागरिकहरुमा क्यान्सर रोग भए नभएको र मृगौला रोगको समस्या रहे नरहेको स्किनिङ गर्ने कार्यका निमित्त पनि आवश्यक बजेट जुटाउने प्रयास भइरहेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्