काठमाडौं, १९ कार्तिक । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले अबकोृ राजनीतिक कोर्श पनि रवि लामिछानेको वरिपरी घुम्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछाने प्रकरण नै अहिलेको राजनीतिमा निर्णायक रहेको बताएका हुन् । पूर्व उपप्रधान एवं अर्थमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने अहिले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । दशैं, तिहार र छटपछिको आगामी राजनीतिक कोर्श पनि लामिछाने प्रकरणको वरिपरी रहने र राजनीतिक मोलतोलसमेत हुनसक्ने उनको भनाइ छ ।
‘राजनीतिक कोर्श अहिले पनि रवि लामिछानेको प्रकरण नै देखिन्छ । यस्ता कुराहरु राजनीतिमा निर्णायक नभइदिनुपर्नेमा यस्तै कुराको वरिपरी हाम्रो राजनीति घुम्यो । अब यो चिजलाई हामीले कसरी दिशा दिन्छौं र त्यो दिशाले हामीलाई जता लग्छ, मलाई लाग्छ धेरै हदसम्म त्यसमा नेताहरु निष्ठामा रहन्छन् कि रहँदैनन् ? किनभने खेलखालको चलन छ । राजनीतिक अस्थिरता यहाँको मुख्य चरित्र रहेर आएको छ । त्यो पनि नरहनुपर्ने थियो, राजनीतिक स्थिरता हुनुपर्ने थियो । अहिलेको हाम्रो इतिहासको चरण मूल्य निर्माणको हो । हामीले लोकतन्त्र चाहीँ ल्याएका छौं । तर, लोकतान्त्रिक आचरण कसैसँग पनि छैन,’– उनले भने ।
योग्यता र विज्ञतामा आधारित सुशासित शासकीय स्वरुप हुनुपर्नेमा त्यो कुनै क्षेत्रमा पनि नरहेको उनले बताए । अहिले देश सबै क्षेत्रमा संक्रमित रहेको उनको टिप्पणी छ । हामीले व्यवस्थाको मूल्य निर्माण गर्न नै चुकेको उनको टिप्पणी छ । दल खोल्नु र अभिव्यक्ति स्वतन्त्रतामात्रै लोकतन्त्रको अंगको रुपमा बुझ्ने बुझाइ अपूरो रहेको उनको भनाइ छ ।