काठमाडौं, २१ कार्तिक । संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले राजनीतिले मुलुकलाई ठीक दिशा दिन नसक्दा आम नागरिकमा असन्तुष्टि बढिरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मुलुक अप्ठ्यारोमा परेको र सरकारले नागरिकहरुका अपेक्षा पूरा नगरेको कारण वितृष्णा बढ्दै गएको बताएका हुन् । सत्तारुढ दलहरुले अहिले सत्ता टिकाउनेतिरमात्रै ध्यान दिइरहेको पनि उनले बताए ।
‘राजनीतिले मुलुकलाई ठीक दिशा दिन सकेन । मुलुक राइट डिरेक्सनमा जान सकेन भन्ने कुरा जताततै देखिन्छ । सत्तामा रहेकाहरुलाई सत्ता जोगाउन अप्ठ्यारो अवस्था छ, कसरी सत्ता जोगाऔं भन्ने छ । सरकारले नागरिकको अपेक्षा पूरा नगरेको र मुलुक अप्ठ्यारो अवस्थामा परेको कारणले आम नागरिकमा वितृष्णा छ,’– उनले भने ।
सहकारीका सञ्चालकहरु मिलेर विना धितो ऋण दिएर स्क्याम गरिएको उनले बताए । मुलुकको अर्थतन्त्रको २० प्रतिशतलाई सहकारी ठगीले असर पारेको उनले बताए । अहिलेसम्मको सरकारको तौर तरिकाले सहकारी पीडितले न्याय नपाउने उनले बताए । वरिष्ठ अधिवक्ता भण्डारीले कर्जा सुरक्षणका लागि धितो नराखी ऋण लिने र दिने दुवैलाई कारबाही गरिनुपर्ने बताए । रवि लामिछाने सरह सहकारी ठगहरुलाई कानुनको दायरामा ल्याउनुपर्ने अधिवक्ता भण्डारीको माग छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङदेखि नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेलसम्म छानविनको दायरामा आउनुपर्ने उनले बताए ।
‘जो–जो दोषी छन्, ती सबैमाथि कारबाही गरिनुपर्छ, कानुनको दायरामा ल्याउनुपर्छ । कुनै दलको नेता हो भन्दैमा उसलाई छोड्ने अर्को दलको नेतालाई मात्रै कारबाही गर्ने काम कानुनको शासनका लागि र संविधानिक रुपमा डेमोक्र्याटिक गभर्मेन्टको लागि पनि उपयुक्त होईन । अहिले सहकारीसम्बन्धी डरलाग्दो पिक्चर बाहिर आएको छ । मुलुकमा झण्डै चार हजार सहकारी छन् । ती सहकारीहरुमा लभभग साढे दुई खर्ब अपचलन भएको अवस्था छ । ७५ लाख मानिसहरु यससँग सम्बन्धित रहेका छन्,’– उनले भने । File Photo/RN