Logo

प्रधानमन्त्री ओलीलाई रंगशालामै मार्न उक्साउने रतन कार्कीले मागे माफी



काठमाडौं । जापानमा रहेका यूट्यूबर रतन कार्कीले माफी मागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्न उक्साएको आरोपमा उनीविरुद्ध प्रहरीले सुक्ष्म निगरानी गरिरहेको थियो ।

गत साता काठमाडौंको दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिपको फाइनल चलिरहँदा एक भिडियो सार्वजनिक गर्दै उनलेप्रधानमन्त्री ओलीलाई त्यही मार्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

साफको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएपछि उनले मौका आजै हो । आजै आँटौं भन्दै ओलीलक्षित अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘आज गरौं यत्तिचाहिँ गरिहालौं । आज गरिएन भने हामी धेरै पछुताइन्छ । आँटौं साथीहरु आज । तपाईंहरुले गेम हेरिरहनुभएको होला,तर मैले अरु नै केही हेरिरहेको छु । आज हामीले चाहेम भने मार्न सकिन्छ । यत्रो मान्छे छन् एउटा ग्रुुप बनाएर घेर्ने हो भने मार्न सकिन्छ । मारेपछि मारेको मार्यै हुन्छ । आज आँटी हालौं,धेरै टाइम पनि छैन । बूढो गइहाल्छ, उता जान पनि टाइम छैन । बुझ्नु न यत्ति चाँही गरौं के । आज गरिएन भने पछुताइन्छ साथीहरु ।’

उनको उक्त अभिव्यक्तिलाई आधार बनाउँदै प्रहरीले जापानस्थित नेपाली दूतावासको समन्वयमा कार्कीमाथि निगरानी बढाएको थियो । त्यसपछि अत्तालिएका उनले आज भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्रीलाई मार्ने नियत नभएको स्पष्ट पारेका हुन् ।

‘हिंसात्मक शब्द बोल्न पुगेछु, त्यसका लागि सबैसँग क्षमा चाहन्छु,’ उनले भनेका छन्,’दर्शकलाई हँसाउने उद्देश्यले बोल्दा कमीकमजोरी भएको हो। कुनै पनि राजनीतिक व्यक्तिसँग वा कुर्सीमा बसेका कसैले मलाई नै प्रहार गर्‍यो जस्तो चाहिँ नलिनु। किनकी मैले व्यक्तिगत रूपमा यसलाई सक्काउनुपर्छ भन्ने देखिए पनि मेरो आसय त्यस्तो थिएन। त्यस्तो भनेर मैले गलत गरेँ।’



प्रतिक्रिया दिनुहोस्