Logo

अनुमतिविना सुटुक्क जापान पुगेपछि विवादमा तानिएका कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले बुझाए राजीनामा



काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । प्रदेश मन्त्री परिषद् र संघ सरकारको अनुमती बेगर नै जापान गएको विषय विवादमा परेपछि मन्त्री अधिकारीले बुधबार राजीनामा दिएका हुन्। उनले बुधबार बिहान मुख्यमन्त्री हिक्मत कार्कीलाइ राजीनामा बुझाएको मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

अधिकारी केही दिन अघि लुसुक्क जापान पुगेर फर्किएका थिए । भ्रमण स्वीकृत नगरि जापान गएको भन्दै उनी विवादमा तानिएका थिए ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए ।

मन्त्री अधिकारीले राजीनामा दिने तयारी गरेपछि सो मन्त्रालयमा एमालेले अर्की सांसद मिना श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेको छ । उनले आजै शपथ लिनसक्ने स्रोतले जनाएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीको सचिवालयमा काम गरिसकेकी उनी ओलीलाई ‘बा’ भन्ने नेतामध्येकी एक हुन् । उनलाई कोशीको सांसद बनाउनुअघिनै मन्त्री बनाउने सहमति भइसकेको स्रोतको दाबी छ ।

सुरुमा पार्टीले संघीय सांसद बनाउने भनेपनि अन्तिम समयमा प्रदेशसभा सदस्य बनाइएकी उनलाई त्यतिबेलै प्रदेश सरकारमा पठाउने भनिएपनि अहिलेसम्म अवसर भने पाउन सकेकी छैनन् । उनले भने पार्टीले जिम्मेवारी दिएमा आफूले सक्रियतापूर्वक काम गर्ने बताउँदै आएकी छन् ।



प्रतिक्रिया दिनुहोस्