काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाको राष्ट्रपतिमा जित निश्चित गरेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
हिजो भएको राष्ट्रपति निर्वाचनमा निवर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पपिछ पार्दै ट्रम्प जितको नजिक पुगेका छन् । जितको नजिक पुगेसँगै उनले सम्बोधन गर्दै आफू राष्ट्रपति निर्वाचित भएको घोषणा गरेका छन् ।
ट्रम्पको घोषणापछि इजरायली प्रधानमन्त्री नेतान्याहूले ट्विटरमा आफू र पत्नी सारासँगै ट्रम्पको तस्वीर राख्दै उनको जितलाई इतिहासको सबैभन्दा ठूलो पुनरागमन भनेका छन् । उनले भनेका छन् ‘प्रिय डोनाल्ड र मेलानिया ट्रम्प, इतिहासको सबैभन्दा ठूलो पुनरागमनको लागि बधाई । ह्वाइट हाउसमा तपाईको ऐतिहासिक फिर्ताले अमेरिकाको लागि नयाँ सुरुवात र इजरायल र अमेरिकाबीचको महान् गठबन्धनको लागि शक्तिशाली पुनस् प्रतिबद्धता प्रदान गर्दछ। यो ठूलो विजय हो’ ।
अहिलेसम्म ट्रम्पले २६७ र ह्यारिसले २३० इलेक्टोरल मत प्राप्त गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ब्याटलग्राउन्ड राज्यमध्ये सबैभन्दा महत्त्वपूर्ण पेन्सिलभेनिया राज्यमा ट्रम्पले जितेसँगै उनको दोस्रो पटक ह्वाइट हाउन छिर्ने सपना साकार हुने करिब टुंगो लागेको छ । राष्ट्रपति पदमा जीतको लागि इलेक्टोरल सङ्ख्या २७० रहेको छ।
यो ट्रम्पको तेस्रो राष्ट्रपतीय चुनाव हो । यसअघि उनका आलोचकहरूले उनको अभियानलाई कमजोर ठानेका थिए । उनलाई विशेषगरी महिला मतदातालाई आकर्षित गर्न असफल भएको आरोप लागेको थियो ।