काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको राष्ट्रपतिमा जित निश्चित गरेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । हिजो भएको राष्ट्रपति निर्वाचनमा निवर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पपिछ पार्दै ट्रम्प जितको नजिक पुगेका छन् । जितको नजिक पुगेसँगै उनले सम्बोधन गर्दै आफू राष्ट्रपति निर्वाचित भएको घोषणा गरेका छन् ।
ट्रम्पको घोषणापछि भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमा आफूसँगै ट्रम्पको तस्वीर राख्दै उनको जितलाई इतिहासको ऐतिहासिक जित भनेका छन् । “तपाईंको अघिल्लो कार्यकालको सफलताहरू जस्तै म भारत–अमेरिकाको व्यापक विश्वव्यापी र रणनीतिक साझेदारीलाई अझ सुदृढ बढाउने गरी हाम्रा सहयोगलाई अगाडि बढाउन उत्सुक छु,” मोदीले लेखेका छन्, “आउनोस् हामी हाम्रा जनताको हित, विश्वव्यापी शान्ति र स्थिरता तथा समृद्धिको लागि मिलेर काम गरौँ ।”
मंगलबार भएको राष्ट्रपति निर्वाचनमा ट्रम्प जित नजिक पुगिसकेका छन् । अहिलेसम्म ट्रम्पले २६७ र ह्यारिसले २३० इलेक्टोरल मत प्राप्त गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ब्याटलग्राउन्ड राज्यमध्ये सबैभन्दा महत्त्वपूर्ण पेन्सिलभेनिया राज्यमा ट्रम्पले जितेसँगै उनको दोस्रो पटक ह्वाइट हाउन छिर्ने सपना साकार हुने करिब टुंगो लागेको छ । राष्ट्रपति पदमा जीतको लागि इलेक्टोरल सङ्ख्या २७० रहेको छ।
यो ट्रम्पको तेस्रो राष्ट्रपतीय चुनाव हो । यसअघि उनका आलोचकहरूले उनको अभियानलाई कमजोर ठानेका थिए । उनलाई विशेषगरी महिला मतदातालाई आकर्षित गर्न असफल भएको आरोप लागेको थियो ।