काठमाडौं, २१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसहित ८ जनालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रतिनिधि सभा सदस्य मञ्जु खाँड, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँबर र ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि छानविन गर्न माग गर्दै युवराज पौडेल ‘सफल’ ले उजुरी दिएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ओलीको प्रत्यक्ष संलग्नता पुष्टि हुने निवेदकको दाबी छ । उजुरीमा भनिएको छ, ‘प्रधानमन्त्रीको हैसियतले केपी शर्मा ओलीको नैतिक एवं भौतिक रुपमा संलग्नता देखिन्छ । अतः निज आरोपीलाई ठगी, संगठित अपराध, मानव बेचबिखान, सरकारी कागज किर्ते र सम्पत्ति सुद्धीकरण मुद्दामा समेत अनुसन्धान गर्नुपर्ने देखिन्छ,’– उजुरीमा भनिएको छ ।